आज आदिवासी जनजाति दिवस
काठमाडौं,२४ साउन । २१ औ विश्व आदिवासी जनजाति दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाईँदैछ । यसपाली दिवसको नारा “पहिचान सहितको संघीयता, आदिवासी जनजातिको अडान, समानुपातिक, समबेसी धर्म निरपेक्ष नयाँ नेपालको संबिधान” राखिएको छ ।
सन १९९४ मा संयुक्त राष्ट्रसंघले हरेक बर्षको अगष्ट ९ लाई अन्तराष्ट्रिय आदिवासी दिवसका रुपमा मनाउने निर्णय गरेपछि नेपालमा पनि प्रत्येक बर्ष यो दिवस मनाउन थालिएको हो । दिवसको अन्तराष्ट्रिय नारा भने आदिवासीहरुको स्वास्थ्य र समुन्नतीको सुनिश्चितता भन्ने तय गरिएको छ ।
यसैबीच नेपाल आदिवासी जनजाति महासंघले भने यसपाली आदिवासी दिवस सडकमा मनाउने घोषणा गरेको छ । संबिधानको प्रारम्भीक मस्यौदाले आदिवासी जनजातिको अधिकार कुण्ठित गरेको भन्दै सडकमा दिवस मनाउन लागिएको महासंघका अध्यक्ष नागेन्द्र कुमार कुमालले जानकारी दिनुभयो । महासंघको अगुवाईमा बिहान ११ बजे भृकुटीमण्डपबाट सुरु भएको र्याली बानेश्वरमा पुगेर कोणसभामा परीणत हुनेछ ।