Live Streaming

​दुई सय २३ केजी गाँजा बरामद

भानुभक्त आचार्य


हेटौंडा,२२ साउन । प्रहरीले मकवानपुरको ग्रामीण क्षेत्रमा उत्पादन हुने अवैध लागूऔषध गाँजा ओसारपसार नियन्त्रणमा सक्रियता देखाएको छ । शुक्रबार राति १ बजे पालुङबाट हेटौंडा आउँदै गरेको ना २ ख ९२५० ट्रकबाट दुई सय २३ केजी गाँजा बरामद गरेको प्रहरीले बताएको छ । 

विशेष सूचनाका आधारमा प्रहरीचौकी भैंसेका प्रहरी सहायक निरीक्षक रामबाबु सिंहको टोलीले गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता डीएस्पी शिशु शर्माले बताए । प्रहरीलाई देख्ने बित्तिकै ट्रकका चालक र सहचालक फरार भएको डीएस्पी शर्माले जानकारी दिएका छन् ।

ट्रकको क्याबिनमाथिको सिलिङको खाली भागमा लुकाएर ल्याइएको गाँजा बरामद गरेको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरी प्रबक्ता डीएस्पी शर्माले बताए । यसैगरी १ ग्राम खैरो हेरोईन सहित हेटौंडा–३ का २८ वर्षीय अमित श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडाको बनस्खण्डीबाट श्रेष्ठलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रबक्ता शर्माले बताए ।