Live Streaming

सुई लगाउँदा मुटुरोगी बालिकाको ज्यान गयो

राजन गाउँले

सिन्धुली, २२ साउन । जिल्ला अस्पताल सिन्धुलीमा सुई लगाउँदा यहाँकी एक मुटु रोगी बालिकाको मृत्यू भएको छ ।लामो समयदेखि मुटुको नलीमा समस्या भएर उपचार गराउँदै आएकी भिमेश्वर४ खुर्कोटकी १२ वर्षीया सम्झना मंग्रातीको मृत्यु भएको हो ।

मुटुमा समस्या भएकी बालिकालाई जिल्ला अस्पताल सिन्धुलीका हेल्थ असिस्टेन्डले सुई लगाइदिए लगत्तै बालिकाको तत्काल मृत्यू भएको अस्पताल स्रोतले जनायो ।गंगालाल हृदयरोग केन्द्र काठमाडौंमा मुटुको उपचार गराउँदै आएकी बालीकालाई त्यहाँकै चिकित्सकले सिफारिस गरेको सुई लगाउने क्रममा मृत्यु भएको जिल्ला अस्पताल सिन्धुलीका प्रमुख डा. सुरेन्द्रप्रसाद चौरसियाले बताए ।

मुटुमा समस्या भएकी बालिका मंग्रातीलाई नियमितजसो उक्त रोगसँग लड्न सक्ने पेनिडुरा (वेन्जाथिन पेन्सीलिङ) सुई लगाउँदा जिल्ला अस्पतालमै मृत्यु भएको डाक्टर चौरसियाले जानकारी दिए ।उनलाई सुई लगाउँदा साइड इफेक्ट भएको उनको भनाइ छ । उनलाई बचाउने प्रयास गरिएपनि त्यो सम्भव नभएको उनको भनाइ छ ।

यस्तो समस्या दशलाखमा एक जनामा हुने भन्दै डाक्टर चौरसियाले लापरबाहीका कारण उनको निधन नभएको बताए । तर, मृतकका आफन्त र स्थानीयले अस्पतालको आपरबाही भएको आरोप लगाएका छन् ।लामो समयसम्म काठमाडौंमा उपचार गरिँदै आएपनि आर्थिक अभावका कारण बालिकालाई आफन्तले घरमा राखेका थिए ।