Live Streaming

इजरायलमा नेपाली कामदार पठाउने सम्झौतापत्रमा आज हस्ताक्षर हुँदै

काठमाडौं,२२ साउन । नेपाली कामदारका लागि आकर्षक रोजगारीको गन्तव्यको रुपमा रहेको इजरायमा कामदार पठाउने समझदारी पत्रमा आज हस्ताक्षर हुँंदैछ । चार वर्ष पछि इजरायलमा कामदार पठाउनका लागि खुला गर्न लागिएको हो ।

म्यानपावर कम्पनीहरुले कामदारबाट चर्को रकम असुल्ने गरेको भन्दै इजरायलले चार वर्षअघि कामदार लिन बन्द गरेको थियो । नेपाली पक्षको बारम्बारको पहलपछि प्रक्रियामा केही कडाइका साथ कामदार लिन इजरायल सहमत भएको हो ।

समझदारी पत्रमा हस्ताक्षर भएपछि भाषा परीक्षा पास गर्नुपर्ने, आवश्यक तालिम लिनुपर्नेलगायतका प्रक्रिया पुरा गरेरमात्र नेपाली कामदार इजरायल जान पाउनेछन् । चरणवद्ध रुपमा ३ सय जना लिने सहमती भएपनि पहिलो चरणमा ५० जना मात्र जान पाउनेछन् ।

 उनीहरुको कार्यशैली हेरेरमात्र बाँकी कामदारलाई लिने इजरायलको रणनीति छ । दुईपक्षीय समझदारीपछि कामदारले लिने तालिम खर्च रोजगारदाता कम्पनीले व्यहोर्नेछ भने हवाइ टिकट र भिसावापतको रकम कामदार स्वयमले व्यहोर्नुपर्नेछ ।