मुख्य विवादित विषय आज साँझसम्म टुंगिने
काठमाडौं,२१ साउन । प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरुले नयाँ संविधानका मुख्य विवादित विषय आज साँझसम्म टुंगिने बताएका छन् । सीमांकन सहितको ६ प्रदेशमा सहमति नजिक पुगेका प्रमुख चार दल अहिले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको विशेष समिति बैठकमा व्यस्त रहेका छन् ।
संघियतासहित प्रमुख विवादित मुद्दाहरुः नागरिकता, धर्मलगायतका अन्य सबै विषय मध्यान्ह १२ बजेभित्रै टुंग्याइने कँग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो । आज नै सबै विषयको टुगाें लाग्ने र साँझ ५ बजेसम्म संवाद समितिको बैठक बसेर सहमतिको एकिकृत प्रतिवेदन पास गरिने पनि खड्काले जानकारी दिनुभयो ।
संवाद समिति सभापति बाबुराम भट्टराईले बैठक सकारात्मक ढगंले अघि बढेकोले आज सहमति हुने बताउनुभयो । दलहरुबीचको हिजो साँझको बैठकमा मधेसमा दुई प्रदेशसहित दलहरुले ६ प्रदेशको संघीय संरचनामा राज्यको पुनर्संरचना गर्ने सहमति भएको श्रोतको दावी छ ।
संविधानको प्रारम्भिक मस्यौदामा ८ प्रदेश उल्लेख गरेर जनताको राय–सुझाव लिइएको थियो । प्रदेशका नाम भने प्रदेशसभाले टुंग्याउने गरी यसअघि मस्यौदामा रहेकै विषय राखिने सहमति छ ।