Live Streaming

जिउँदी आमालार्इ छोरीले यसरी मारिन्

झापा,२० साउन । आफू जिउँदो हुँदा हुँदै मरेको भन्ने आफ्नै छोरीविरुद्ध पश्चिम-दक्षिण झापाको गौरीगन्ज निवासी ७४ वर्षीया वृद्धाले जिल्ला अदालत झापामा मुद्दा हालेकी छन् ।
गौरीगन्ज७ घर भई हाल काठमाडौँ बस्दै आएकी राजकुमारी श्रेष्ठले ४५ वर्षीया छोरी सरस्वती श्रेष्ठविरुद्ध अदालतमा मुद्दा हालेकी हुन् । पतिको नाममा रहेको गौरीगन्ज-५ को कित्ता नं. ६८८ र ०९७ नम्बरको एक बिगाह पाँच कट्ठा जमिन कृषि विकास बैंक गौरीगन्जमा धितो राखी कारोबार गरेको बैंकको हिसाब मिलाउन नसकेपछि लिलाम गरी २०४३ फागुन २५ गते बैंकले आफ्नो नाममा कायम गरेको थियो ।


बैंकको नाममा कायम जग्गा आफ्नो कर्जा तिरेर फिर्ता ल्याउने प्रक्रियामा उनले आमा मरेको बयान २०४५ सालमा दिएको थाहा पाएपछि आफ्नै छोरीविरुद्ध मुद्दा हाल्नुपरेको श्रेष्ठले बताइन् ।'मलार्इ जिउँदै हुँदा मारेर मानमर्दनमा समेत आँच पुर्‍याएकाले आफूले छोरीविरुद्ध मुद्दा हाल्नुपरेको हो', श्रेष्ठले भनिन् ।आफ्ना एक छोरा र पाँचवटी छोरी रहेकामा छोराको पनि मृत्यु भएको उनको भनाइ छ। पतिको पनि पहिले नै मृत्यु भइसकेको अवस्थामा अहिले छोरीले अदालतमा गएर आफूलार्इ मरिसकेको बयान दिएर जग्गा आफ्नो नाममा बनाई सम्पत्ति हडप्न खोजेको ती बृद्धाले बताइन् ।

'पति र छोराको निधन भएपछि बुहारीलाई अंश दिन खोज्दा जमिन छोरीले एकलौटी बनाएपछि थाहा पाएर बूढेसकालमा अदालती ढोका ढक्ढक्याउन आएकी हुँ', श्रेष्ठले भनिन्, 'छोरीले म मरेको बयान २०४५ सालमै दिएकी रहिछे, अहिले आएर थाहा भएपछि अदालत आएकी हुँ ।' रासस