Live Streaming

​शीर्ष नेताहरु छलफलमा व्यस्त

काठमाडौं,२० साउन । प्रदेशको सिमांकन टुंग्याएर मात्र संविधान जारी गर्ने पक्षमा रहेका दलहरु जनताको सुझावसँगै कम प्रदेश बनाउने विषयमा घनिभुत रुपमा छलफलमा जुटेका छन् । १६ बुँदे सहमतिका क्रममा दलहरुबीच ८ प्रदेश बनाउने सहमति भएपनि पछि जनताबाट ५ प्रदेश बनाउनुपर्ने सुझाव आएपछि दलहरु बढीमा ६ प्रदेश बनाउने सोचमा पुगेको श्रोतले बताएको छ ।

दलहरुबीच संघीयताका ६ प्रदेशअन्र्तगत मधेसी दलहरुको माग बमोजिम तराईको पर्सादेखि सप्तरीसम्म एक प्रदेश त्यस्तै कोशिपारीदेखि झापासम्म एउटा प्रदेश, सेती महाकाली कर्णाली दैलैख जाजरकोट र सुर्खेत समेटेर एउटा प्रदेश , बर्दिया बाँके दाङ, सल्यान प्युठान र लुम्बुनी समेटेर एक प्रदेश बनाउने गरि छलफल केन्द्रित रहेको श्रोतले बताएको छ ।

त्यसैगरी रुकुम रोल्पा, धौलागिरी र गण्डकीको एउटा प्रदेश र  बिचका बाँकि भुभागको अर्को प्रदेश निर्माण गर्ने बिषयमा दलहरु सहमती नजिक पुगेको श्रोतको भनाई छ । दलहरु बिच यसैमा सहमती भए तराईको एक प्रदेश बाहेक अन्य प्रदेशहरु भौगोलीक रुपमा उत्तर दक्षिण समेट्ने गरि निर्माण हुनेछन ।

दलहरुले आजै साँझसम्ममा सहमती गर्ने गरि छलफल अघि बढाएको एक नेताले बताएका छन् । बिपक्षि एकिकृत माओवादीले पनि क्लष्टर मिलाएर गए ६ प्रदेशमा सहमती गर्ने जनाउ दिएपछि सोहि विषयमा केन्द्रित रहेर दलहरुबिच गम्भीर छलफल भइरहेको श्रोतले जनाएको छ ।