नयाँ मुख्य सचिवमा सोमलाल
अन्नपूर्ण
काठमाडौं, २० साउन । सरकारले नयाँ मुख्य सचिवमा सोमलाल सुवदीलाई नियुक्त गरेको छ। बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई मुख्यसचिवमा नियुक्त गरेको हो।
मन्त्रिपरिषद्को बैठकपछि सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले सुवेदीलाई शुक्रबारदेखि लागु हुने गरी मुख्यसचिवमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिए।मुख्यसचिव लीलामणि पौडेलको पदावधि शुक्रबार सकिँदैछ।
वरिष्ठताका हिसाबले अगाडि रहेका सुवेदीलाई सरकारले स्वभाविक रोलक्रमअनुसार नै मुख्यसचिव बनाएको हो। मुख्य सचिव पदका लागि सचिवहरु जयमुकुन्द खनाल र विश्वप्रकाश पन्डित पनि दाबेदार थिए।
सुवेदी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव हुन्। उनलाई स्थानीय विकास विज्ञ पनि मानिन्छन्। स्वच्च र व्यसायिक प्रशासकको छवि बनाएका सुवेदी अहिलेसम्म खासै विवादमा परेका छैनन्।
छ रिक्त सचिवका बारेमा भने मन्त्रिपरिषद्ले केही निर्णय गरेको छैन। अन्य ६ वटा मन्त्रालय तथा निकायमा पनि सचिव पद रिक्त छन्।