Live Streaming

११ वर्षीया बालिका बलात्कृत

क्रान्ति शाह

 

वीरगन्ज, पर्साको धोरेमा-११ वर्षिया बालिका आफनै नातेदारबाट बलात्कृत भएकी छन्। भारत बिहारको रक्सौल थाना अन्तर्गत पर्ने घरदमइ गाँउ घर भइ पर्साको धोरे ६ स्थित मावलीमा बस्दै आएकी ११ वर्षीया बालिकालाइ नातामा सानोबुबा पर्ने २५/२६ वर्षका युवकले बलात्कार गरेका हुन्।

 बालिकालाइ पर्साको रंगपुर टाँडी निवासी सुरेन्द्र मलाहले सोमबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ। मावलीमा रहेका एक्लो हजुरबुबासंग बस्दै आएकी बालिकालाइ सोमबार बेलुकी मलाहले ललाइ फकाइ गाँउ भन्दा परेको धानको खेतमा लगेर दुइ पटक जबरजस्ती करणी गरेको पीडित बालिकाले प्रहरीलाइ बताएकी छन्। 

  आरोपित मलाहलाइ इलाका प्रहरी कार्यालय पोखरीयाले सोमबार राति नै पक्राउ गरेको छ। प्रहरीसंगको प्ररम्भिक बयानका क्रममा मलाहले पनि आरोप स्वीकार गरिसकेको प्रहरी श्रोतले जनाएको छ। 

 मलाहलाइ प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक निशान थापाले जानकारी दिए। सोमबार बेलुकी हजुरबुबा गाँउकै मन्दिरमा पुजा गर्न गएका बेला घरमा एक्लै रहेकी बालिकालाइ मलाहले भारतमा रहेको घरमा पुरयाइदिने बहानामा मावली घरबाट लिएर गएको र गाँउ भन्दा केहि पर पुगेपछि धानको खेतमा बलात्कार गरेको पिडित बालिकाका हजुरबुबाको भनाइ उधृत गर्दै प्रहरीले जनाएको छ।

 पीडित बालिकाकी आमाले मंगलवार बिहान इलाका प्रहरी कार्यालय पोखरीयामा दिएको जाहेरीका आधारमा मलाह विरुद्ध मुद्धा दर्ता गरिएको प्रहरीले जनाएको छ।पीडित बालिकालाइ स्वास्थ्य परिक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ।

 यसअघि गत शुक्रवार राति पर्साकै भेडियारी गाविसमा पनि १२ वर्षिया एक बालिकालाइ तीन जना युवकले सामुहिक बलात्कार गरेका थिए। भेडियारी गाविस वडा नम्बर ४ की बालिकालाइ छिमेकी गाँउकै तीन जना युवकले अस्ति शुक्रबार मध्य राति अपहरण गरेर धानको खेतमा लगेर बलात्कार गरेका थिए। 

बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले पोखरीया नगरपालिका वडा नम्बर ४ सतवरीया टोलका ३० वर्षिय भुपेन्द्र साह कानु , २५ वर्षिय गोविन्द प्रसाद चौहान र २३ वर्षिय रामकलश साह कानुलाइ पक्राउ गरिसकेको छ। बलात्कारमा परेकी  बालिकाको वीरगन्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा अहिले पनि उपचार भइरहेको छ।