साउन मसान्तभित्र संविधान जारी गर्न दलहरु छलफलमा व्यस्त
काठमाडौं,१९ साउन । प्रदेशको सीमांकन टुंग्याएरै साउन मसान्तभित्र संविधान जारी गर्ने प्रयासमा बिहानैदेखि दलहरुले छलफल सुरु गरेका छन् । सिंहदरबारमा जारी संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको विशेष समिति बैठकमा जनताका सुझावका आधारमा संविधानको मस्यौदा परिमार्जनको गृहकार्य भइरहेको नेताहरुले बताएका छन् ।
समितिले चार दलका दोस्रो तहका नेताहरूको समेत सहयोग लिएर हिजो दिनभर सीमांकनका साथै जनताका सुझावका आधारमा संविधानको मस्यौदा परिमार्जनको गृहकार्य गरेको थियो । दोश्रो तहका नेताहरुसहितको कार्यादल र विशेष समितिले आज साँझ सम्म सहमतिको एकिकृत प्रतिवेदन तयार पार्ने दावी गरेका छन ।
सीमांकनका विभिन्न विकल्पमा छलफल भए पनि कसरी टुंग्याउने भन्ने विषयमा भने ठोस रूपमा प्रवेश भएको छैन । असन्तुष्ट दल तथा समूहलाई समेट्न भारतीय पक्ष र विभिन्न दल तथा जनताबाट पनि सीमांकन टुंग्याउन दबाब आएपछि चार दल सीमांकन टुंग्याएर संविधान जारी गर्न कस्सिएका हुन ।
संवाद समिति सभापति बाबुराम भट्टराईले थप केही दिन लगाएर भए पनि सहमति गरिने दावी गर्नुभयो । संवादबाट टुंगिएपछि अरू प्रक्रियाको समय छोट्याएर साउनभित्रै वा नभए भदौको पहिलो साताभित्र संविधान जारी गर्न सकिने उहाँको भनाइ छ ।