राजश्व बुझाउन निकुन्जको हेलीकप्टर कम्पनीेलाई ताकेता
छेटु शेर्पा
सङ्खुवासभा,१८ साउन । मकालु बरुण राष्ट्रिय निकुन्ज क्षेत्रमा अवतरण गराए वापतको राजश्व तिर्नका लागि हेलिकप्टर कम्पनीलाई निकुन्जले ताकेता गरेको छ । निकुन्ज क्षेत्रमा आर्थिक बर्ष २०७०÷०७१ अवधिमा अवतरण गरेवापतको प्रति अवतरणको दुई हजार रुपैयाँ बुझाउनु पर्ने नियमलाई उल्लंघन गर्दै हेलिकप्टर कम्पनीले बेवास्ता गरेको भन्दै कम्पनी र प्रशासनमा पत्रचार गरी ताकेता गरेको जनाएको छ ।
निकुन्जले सिम्रीक,माउण्टेन र फिस्टेल कम्पनीलाई राजश्व बुझाउन ताकेता पत्र पठाएको छ । फिल्ड कर्मचारीको तथ्याङकअनुसार मनाङले दुई पटक,फिष्टेल ३१,सिम्रीक १० पटक अवतरण गराएको निकुन्जका सहायक संरक्षण अधिकृत सरोजमणी पौडेलले बताउनुभयो । हिमाली राष्ट्रिय निकुन्ज नियमावली २०३६ ले प्रत्येकले राजश्व बुझाउनु पर्ने नबुझाए हेलिकप्टर जफत तथा पाइलट पक्राउ गर्ने अधिकार सम्म रहेको छ । ताकेता गरेको तीन दिन भित्र राजश्व दाखिला नभए निकुन्ज तथा बन्यजन्तु ऐन २०२९ अनुसार कारवाही अघि बढाइने निकुन्जले तयारी गरेको छ ।
सङ्खुवासभाका १० गाबिस र सोलुखुम्बुको बुङ,छेस्काम गरी १२ गाबिसमा फैलिएर रहेको मकालु बरुण राष्ट्रिय निकुन्ज क्षेत्रमा जडिबुटी धुवानी,बिरामी उद्धार र पर्यटक ओसारपसारका लागि हेलिकप्टर अवतरण हुने गरेको पाइएको छ । यस अघि सम्म प्रयोगमा नआएको यो नियामवली गत बर्ष सञ्चार माध्यमले प्रचारप्रसार गरे पछि कार्यन्वयनमा आएको छ ।
गत बर्ष ९९ पटक निकुन्ज क्षेत्रमा अवतरण गराए वापत तीन कम्पनी मध्ये माउण्टेन हेलिकप्टरले एक लाख ६ हजार, फिस्टेलले ४० हजार र सिम्रीकले ५० हजार रुपैयाँ गरी एक लाख ९६ हजार रुपैयाँ बुझाएका थिए । यो निकुन्जकै दाखिला राजश्व थियो । हेलिकप्टर कम्पनीले आफ्नो क्षेत्रमा अवतरण गर्दा राजश्व जम्मा गरी अगाडीनै जानकारी दिनुपर्ने माग गरेका छन् । राजश्व बुझाउन ताकेता गर्नु पर्ने भएकाले यो प्रवृति सुधार गर्न कम्पनीहरुलाई निकुन्जले आग्रह समेत गरेका छन् ।