Live Streaming

एकीकृत मस्यौदाको आजै टुंगो लाग्ने,दलहरु छलफमा व्यस्त

 काठमाडौं,१७ साउन । जनताबाट प्राप्त सुझावलाई संविधानमा समेट्नेबारे सहमति जुटाउन नेताहरुले कसरत तिब्र पारेका छन् । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले आज अपरान्ह ४ बजेसम्म संविधान निर्माणमा देखिएका विवादित विषय टुंग्याएर एकीकृत मस्यौदाको लागि सहमति जुटाउने जिम्मेवारी पाएको छ ।  

समितिको हिजोको बैठकमा अबेरसम्म छलफल भए पनि निस्कर्षमा पुग्न नसकेकाले आज विहानैबाट सहमतिको प्रतिवेदन तयार पार्ने प्रयास स्वरुप संवाद समिति अन्तर्गतको विशेष समिति र कार्यदल बैठक जारी छ । विशेष समितिमा संविधानको प्रस्तावनासहित ११ पटा प्रमुख विषयमा छलफल भइरहेको छ । संवाद समितिका सभापति बाबुराम भट्टराईले आज सम्म ती सबै विषयमा सहमति निर्माण गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

कार्यदल सहितको विशेष समिति बैठकले दिनभरको छलफलबाट विवादित र बहसमा रहेका विषयलाई टुंग्याएर अपरान्ह ४ बजे संवाद समितिको पूर्ण वैठकमा प्रतिवेदन बुझाउने कार्यादल सदस्य भिष्मराज आङदाम्बेले जानकारी दिनुभयो । आज पनि जनताका सुझाबबारे दलहरुबीच एकमत नभए साउन मसान्तभित्र संविधान जारी गर्ने दलहरूको आन्तरीक कार्यतालिका प्रभावित हुनेछ । विशेष समितिले गठन गरेको कार्यदलले भने आफ्नो काम सकेर प्रतिवेदन बुझाएको छ ।

जसमा पूर्ण प्रेस स्वतन्त्रता भन्ने शब्दावली राख्ने, महिलालाई प्रजनन स्वास्थ्यको हकको व्यवस्था गर्ने, नेपाली सेना नेपालको संविधानप्रति प्रतिबद्ध हुनेछ भन्ने प्रावधान राख्नेलगायतका कम विवादित विषयमा सहमति जुटिसकेको छ । राजनीतिक दलहरूबीच सैद्धान्तिक मतभिन्नता रहेको शासकीय स्वरूप, संघीयता, नागरिकता, धर्म, निर्वाचन प्रणालीजस्ता विषय टुंग्याउने जिम्मा कार्यदलले शीर्ष नेताहरूलाई नै दिएको छ । राजनीतिक दल गठनसम्बन्धी विषयमा थ्रेसहोल्ड राख्न सबै पक्ष तयार भए पनि कति प्रतिशत राख्ने भन्नेमा विवाद छ ।