रसुवागढी नाका अझैं संचालनमा आएन
नुवाकोट,१७ साउन । पहिरोले अवरुद्ध रसुवागढी नाका सञ्चालन नहुँंदा आयात निर्यात व्यापारमा प्रभाव परेको छ । चीन प्रवेशको दोश्रो ठूलो तथा छोटो सो नाका भुकम्पपछि गएको पहिरोले अवरुद्ध छ । दशैं अगाडि नै नाका सञ्चालन गराउन रसुवाका सभासद्हरुले दबाब दिएका छन् ।
विभिन्न समयमा नाका खुलाउन नेपाल र चीन दुवै देशले पहल गरेपनि स्याफ्रुवेशी–रसुवागढी–केरुङ मार्गको चीनको केरुङतर्फ ठूला ढुङ्गा सहितको पहिरोले सञ्चालनमा समस्या आएपछि सरकालाई गम्भीर बन्न रसुवाका सभाषद्हरुले ध्यानाकर्षण गराएका छन् ।
सभासद् जनार्दन ढकालले चीनसंगको दोश्रो ठूलो अन्र्तराष्ट्रिय ब्यापारिक नाका रसुवागढी सञ्चालनमा ल्याउन सरकाले वेवास्था गरेको भन्दै सम्वन्धित निकायलाई गम्भीर बन्न आग्रह गर्नुभएको छ । सिन्धुपाल्चोकमा रहेको तातोपानी नाका पनि पहिरोले अबरुद्ध रहेको समयमा छोटो दुरी पर्ने र सुचारु गर्न धेरै गाह्रो नभएकाले रसुवागढी नाका सञ्चालन गर्न सरकारलाई गम्भीर हुन उनले आग्रह गर्नुभयो । उहाँले मावनवस्ती बिहिन भएको लाङटाङको सुरक्षित स्थानमा बस्ती निर्माण गरी लाङटाङको सुन्दरता बचाउनको लागि सरकारले अन्तराष्ट्रियस्तरमा आह्वान गर्नुपर्ने समेत बताउनुभयो ।