Live Streaming

हरिवंश भन्छन् ‘युवा, देश चलाऊ’

अन्नपूर्ण

 

पनौती,१७ साउन कलाकार हरिवंश आचार्यले देश चलाउन राजनीतिको अग्रपंक्तिमा युवा आउनुपर्ने बताएका छन् । सिर्जनात्मक विकासमा युवा नेतृत्व आवश्यक भएकाले प्रत्यक्ष निर्वाचित प्रणालीबाट आउने कार्यकारी युवा हुनुपर्ने उनले बताए ।

 पनौती युवा संघको दोस्रो साधारणसभामा प्रमुख अतिथि बनेर पुगेका हरिवंशले भने, ‘अब बन्ने संविधान युवाको भावअनुरूप नभएपछि पछुताउनुबाहेक विकल्प रहँदैन ।’ 

 संविधान निर्माणको समयमा संवेदनशील कुराहरूमा युवाले आवाज नउठाए देश द्वन्द्वमा जानसक्ने उनको कथन थियो । उनले थपे, ‘सधैं राजनेता बन्नका लागि कपाल फुल्नुपर्ने मान्यताबाट हामी माथि उठ्नुपर्छ । देशमा जोशिला र आँटिला युवा नेतृत्वको खाँचो छ ।

कार्यक्रममा युवा मञ्चले २०७१ को एसएलसी परीक्षामा सामुदायिक विद्यालयबाट प्रथम हुने भालेश्वर उच्च माविका छात्रा मेनुका बन्जरा र छात्र सुमन बन्जरालाई पाँच हजार रुपैयाँसहित सम्मान गरेको थियो ।