Live Streaming

धनगढी नगर क्षेत्र परै डुवानमा

  शिबराज भट्ट


धनगढी १७ साउन: दुई हप्तासम्म चर्को घाम लागेको सुदूरपश्चिममा शनिबार रातीदेखि परेको अविरल वर्षाले डुबानको खतरा बढाएको छ । कैलाली जिल्ला सदरमुकाम धनगढी त पुरै डुवानमा परेको छ । धनगढीको विशालनगर, एलएनचोक, हसनपुर र शिवनगर क्षेत्र सबैभन्दा बढी डुवानमा परेका छन । शिवनगरबाट २० परिवारलाई नेपाल प्रहरी र शसस्त्र प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा ल्याएको कैलालीका प्रहरी उपरिक्षक विक्रम बहादुर चन्दले जानकारी दिए । 

यस्तै धनगढी नगरपालिकाको वडा नंं ३ विशालनगरमा पनि पाँच परिवारको उद्धार गरिएको छ । नेपाल पं्रहरी, शसस्त्र प्रहरी र रेडक्रसकर्मीहरुले उद्धार गरेको हो । सो क्षेत्रमा ठुलो डुबान भएको स्थानीयवासि टेकराज जोशीले बताए । यता निकासको ब्यवस्था नभएपछि धनगढीको मुटु मानिने एलएनचोकमा पनि चार फीट भन्दा बढी डुबान भएको छ । त्यहाँ दुई दर्जन पसलमा पानी पसेको छ । एलएनचोकमा मोटरसाईकल चलाउन गाह्रो भएको छ ।

दैलेखबाट धनगडीका लागि तरकारी ल्याएको मिटि टाटा बस धनगढी नगरपालिका ४ को कैलाली नालाले बगाएको छ । पानीको सतह बढी भएका बेला राष्ट्र बैंक नजिकैको खोलामा गाडी हालेपछि बगाएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए । नगरक्षेत्रमा रहेका खोलाहरुमा अतिक्रमा भएकाले पानीले निकास नपाएपछि नगर क्षेत्र डुबानमा परेको नगरबासीले बताएका छन । नगरविकास समितिले खोला नालाको छेउछाउ भुभाफियाहरुलाई विक्रि गरेपछि खोलाहरुको पानी ओभरफ्लो भएर नगरक्षेत्र डुबानमा परेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिहले बताए ।

उनले नगर क्षेत्रमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाईटीको टोली उद्धारमा खटिएको बताए । पानी परिरहेकाले डुबानको खतरा अझै बढी हुने भएकाले नेपाली सेनाको टोली पनि तयारी अवस्थामा बसेको सहायक प्रमुख जिल्ला अधिकारी सिहले बताए । नगर क्षेत्र पुरै डुवानमा परेपनि मानवीय क्षती भने भएको छैन । नगर क्षेत्रका खोलाको पानी ओझरफ्लो हुन थालेपनि धनगढी नगरपालिकाले जेसीबी मेसिन लिएर खोला आसपासमा निकासमा लागिरहेको छ । 

उता जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियाले, विहान ८ बजेसम्म ५८.२ मिलिमिटर मात्रै पानी परेको जनाएको छ । यती सानो पानीमा नगर क्षेत्र तलाउ हुनुमा खोला नाला अतिक्रमण भएको धनगढी २ सन्तोषिटोलका स्थानीयवासि भोजराज जोशीले बताए । बिहान ८ बजेदेखि नगर क्षेत्रको विद्युत सेवा पनि अवरुद्ध भएको छ ।