भारतमा पकड जमाउन लाग्दा क्षेत्री दाजुभाइ पक्राउ
सुवास गोतामे
काठमाडौं, १७ साउन । करिब चार अर्ब रुपैयाँ ठगीका गिरोह सदस्यमध्ये युनिटी लाइफ इन्टरनेसनलका प्रबन्धनिर्देशक विष्णुबहादुर क्षेत्री र उनका दाजु एवं युनिटीका तालिम निर्देशक कृष्णबहादुर क्षेत्री पाँच वर्षअगाडि नै प्रहरी नियन्त्रणमा आउने पक्कापक्की थियो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का तत्कालीन प्रमुख हालका एआईजी राजेन्द्रसिंह भण्डारीले विशेष सूचनामा प्रहरी टोली सिक्किम पठाएका थिए । सिक्किमस्थित होटेल डम्बुलाको कोठा नम्बर ११० मा बसेको सूचना पाएको सीआईबी टोलीले पक्राउ गर्न होटेल सर्चका लागि स्थानीय प्रहरीसमक्ष सहयोग मागेको थियो । तर प्रहरी प्रशासनले छापा मार्न नदिएपछि रित्तो हात फर्किनुपरेको थियो ।
‘युनिटीका अध्यक्ष काशीराम गुरुङ र क्षेत्री दाजुभाइ सिक्किमको कुन होटेलको कति नम्बर कोठामा बसेको समेत सूचना पाएर टोली पठाएँ तर स्थानीय प्रशासन र प्रहरीको पूरै संरक्षण रहेछ । केही सीप नलागेपछि प्रहरी फर्कनुपर्यो’, एआईजी भण्डारीले भने ।
सीआईबी टोली फर्किसकेपछि पनि सिक्किममा गुरुङ र क्षेत्री दाजुभाइको निगरानी भने प्रहरीले छाडेको थिएन । फलस्वरूप ललितपुर प्रहरीले २०६९ साउनमा गुरुङलाई भारतको दार्जिलिङबाट पक्राउ गर्यो । गुरुङ पक्राउ परेपछि क्षेत्री दाजुभाइ सिक्किम छाड्न बाध्य भए ।
भारतीय रासन कार्डसमेत लिएका उनीहरूले उत्तराञ्चलस्थित सिमलामा माछा पालन गरी बस्दै आएका थिए । महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले सिमलामा क्षेत्री दाजुभाइ माछा पालन गरेर बसेको सुराकी पाए । गत असारमा कृष्णले आफ्नो दाजु विष्णुको गोली हानी हत्या भएको भन्दै फेसबुकमा पोस्ट गरेका थिए ।
प्रहरीले कहींकतैबाट विष्णुको हत्या भएको पुष्टि गर्न सकेन । कृष्णले दाजु विष्णुको मृत शरीर भन्दै फोटोसहित फेसबुकमा पोस्ट गरेपछि महानगरीय प्रहरी अपराध महाशाखाले सूक्ष्म अनुसन्धान थालेको थियो । उनीहरू भारतको सिमलामा रहेको पुष्टि भएपछि महाशाखाले प्रहरी निरीक्षक सुदीप पाठकको टोलीलाई उतै पठाएको थियो ।
पाठकको टोलीले भारतीय प्रहरीको सहयोगमा माछाको ह्याचरी फार्ममै रेड हानेर क्षेत्री दाजुभाइलाई पक्राउ गरी शुक्रबार काठमाडौं ल्याउन सफल भएको हो । प्रहरीको मोस्ट वान्टेड सूची र इन्टरपोलको रेड कर्नर नोटिसमा थिए क्षेत्री दाजुभाइ ।
नेपाल राष्ट्रबैंकको अनुमतिबेगर ललितपुरमा सञ्चालित युनिटीका सञ्चालक समितिका सबै सदस्य तीन लाख ६६ हार तीन सय ४२ जनाको निक्षेप बिगोसहित तीन अर्ब ७९ करोड ८९ लाख ७० हजार एक सय तीन रुपैयाँ ७२ पैसा ठगी फरार भएका थिए ।
पीडितको उजुरीका आधारमा ललितपुर जिल्ला अदालतले २०७० चैत १७ गते क्षेत्री दाजुभाइलाई क्रमशः जनही तीन वर्ष कैद र बिगोसहित एक करोड ६ दाख २६ हजार दुई सय ७६ रुपैयाँ ४९ पैसा पीडितलाई भराउने गरी फैसला सुनाएको थियो । महाशाखा प्रमुख एसएसपी खनालले भने, ‘धेरैको घर परिवार बिचल्ली पारेर ठगी गरी फरार भएका क्षेत्री दाजुभाइ पक्राउ गर्न सफल भयौं, थप अनुसन्धान जारी छ ।’
क्षेत्री दाजुभाइ पछिल्लो समय लुम्बिनीमा ‘बर्थ सेन्टर’ खोल्ने धन्दामा नेपाल र भारत आवतजावत गर्दै आएका थिए । ठगीको धन्दामा युनिटीले दुई हजार डाक्टर, नर्स र इन्जिनियरलाई सदस्य बनाएको तथ्य खुलेको छ । त्योसँगै सुरक्षा निकायका समेत थुप्रै कर्मचारी यसका सदस्य बनेका थिए ।
क्षेत्री दाजुभाइ पक्राउसँगै युनिटीको सञ्चालक समितिका प्रायः ठूला सबै सदस्य पक्राउ परिसकेका छन् । यसअघि युनिटीका अध्यक्ष काशीराम गुरुङ, युनिटी ग्रुप टुर्स एन्ड ट्राभल्सका निर्देशक नेत्र राजवंशी, अर्थ निर्देशक भीमबहादुर गुरुङ, इन्द्रबहादुर विक, शिशिर योगी, विश्वनाथ गौतम, लोकबहादुर टन्डन, घनश्याम बास्ताकोटी, गोविन्द ज्ञवालीलगायत दर्जनौं व्यक्ति पक्राउ परिसकेका छन् ।
युनिटी ठगी प्रकरणको सुरुको मुद्दा तत्कालीन ललितपुर प्रहरी प्रमुख एसपी विक्रम थापाले उठान गरेका थिए । उनले गुरुङ र क्षेत्री दाजुभाइबाहेक अन्य केही सञ्चालक समितिका सदस्यलाई पक्रन सफल भएका थिए । प्रहरीले छापा मार्दा तत्कालीन समयमा युनिटीको लेखा शाखाको दराजमा ६ लाख ७२ हजार दुई सय ५५ रुपैयाँमात्रै थियो । प्रहरी अनुसन्धानबाट २०६७ जेठ तीन गते युनिटीसँग आबद्ध ३७ वटा भगिनी निकायको बैंकखाता र आठ स्थानको जग्गा कारोबार रोक्का गरिएको थियो । हालसम्म पीडितमध्ये चार हजार एक सय ४४ जनाले मात्रै प्रहरीमा उजुरी दिएका छन् ।
यसरी सञ्चालनमा आयो युनिटी
नेपाल प्रहरीको जागिर छाडेर २०५८ मा दुबई पुलिसमा काम गर्दा विष्णुबहादुर क्षेत्री र कृष्णबहादुर क्षेत्रीको भेट काशीराम गुरुङसँग भेट भयो । गुरुङले सिंगापुर र हङकङमा पुगेर पिरामिड शैलीको नेटवर्किङ वित्तीय संस्था खोल्ने योजना बुनेका थिए । उक्त योजनालाई मूर्त रूप दिन क्षेत्री दाजुभाइले पनि साथ दिए ।
नेपाल फर्किएपछि २०६३ वैशाख १३ गते जाउलाखेलस्थित महिला विकास प्रशिक्षणको भवन ३२ वर्षका लागि लिजमा लिने सम्झौतासमेत गरेका थिए । ललितपुरमा २०६४ भदौ २ गते युनिटी लाइफ इन्टरनेसनल लिमिडेट दर्ता गरे । नेपाल राष्ट्रबैंकको अनुमतिबेगर गुरुङ र क्षेत्री दाजुभाइले अन्य साझेदार व्यक्ति खोजी युनिटी डिपार्टमेन्टल स्टोर, युनिटी ग्रुप टुर एन्ड ट्राभल्स प्रालि, युनिटी एयरलाइन्स, परासी युनिटी लाइफ हस्पिटल, बायो डिजेललगायतका महत्त्वाकांक्षी योजना सुरु गरे ।
क्षेत्री दाजुभाइको ललितपुर, स्वयम्भू, इटहरी, चितवन, बागलुङ, धनगढी र नवलपरासीमा आफ्नो संस्था विस्तार गर्न र इलाम, इटहरी, धरान र हेटौंडामा अस्पताल खोल्न जग्गा खरिद गरेका थिए । फलस्वरूप १९ वटा हस्पिटल, २२ वटा खाद्य भण्डारसमेत सञ्चालनमा ल्याएका थिए ।
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, विभिन्न मन्त्रालयका सचिवसँग भेट गरेको फोटोसमेत टाँसेर सर्वसाधारणलाई झुक्याई सदस्यता लिन लोभ्याएको झूटको खेती २०६७ मै सार्वजनिक भएलगत्तै सञ्चालक समितिका सबै सदस्य एवं पैसा उठाउने एजेन्ट समेत भागे ।
युनिटीको ठगी धन्दा विस्तार गर्न राष्ट्रबैंकको स्वीकृतिबेगर २०६७ जेठ १ गते मध्यमाञ्चल ग्रामीण विकास बैंकको नाम परिवर्तन गरी युनिटी ग्रामीण विकास बैंकमा परिणत गरेका थिए । खातामा चेकमा हस्ताक्षर गुरुङ र क्षेत्री दाजुभाइको मात्रै चल्ने व्यवस्था गरिएको थियो ।