पोखरा बागलुङ सडक एकतर्फ खेल्यो
पोखरा, १५ साउन । पहिरोले सडक पुरेपछि हिजोदेखि अवरुद्ध पोखरा–बागलुङ राजमार्ग एकतर्फी रुपमा खुलाइएको छ । बिहीबार बिहान करिब ३ बजेदेखि पहिरो खस्न सुरु गरेपछि पर्वतको तिलाहार गाविसको बेतेनीमा करिव २० मिटर सडक पहिरोले बगाएको थियो ।
त्यस्तै सडकखण्डको पातीचौर, तिलाहारको मौरीभीर, बाजुङस्थित भ्याप्लेखोला, मालढुंगामा पहिरोले सडक पुरेको थियो । डोजर तथा एक्जाभेटरले विभिन्न ठाउँमा गएको पहिरो पन्छाएपछि एकातर्फी सडक सुचारु भएको हो । पहिरोले बाटो अवरुद्ध भएपछि सैयौं यात्रु बाटोमै अलपत्र परेका थिए ।
प्रहरीका अनुसार राजमार्गको पर्वत खण्डमा मात्रै १० ठाउँमा पहिरोले सडकमा क्षति पुर्याएको छ । मालढुंडा–बेनी सडकखण्डमा पर्ने माझी बस्ती, खनियाघाट, फर्से, धाइरिङ र माझफाँटलगायतका १० स्थानमा पहिरोले अवरुद्ध सडक पनि सुचारु भै सकेको सडक डिभीजन कार्यालय बागलुङ्गले जनाएको छ ।