पहिरोमा परी मृत्यु हुनेको संख्या २६ पुग्यो
काठमाडौं,१४ साउन । कास्कीको लुम्ले र भदौरे तामागीमा पहिरोमा परि मृत्यु हुनेको संख्या १७ पुगेको छ । गएराति १ बजे भीषण वर्षासँगै लुम्ले माथि रहेको खानेपानीको ट्याङ्की फुटी पहिरो गएर घर पुरिँदा १३ जनाको मृत्यु भएको हो । १२ जना भन्दा बढी बेपत्ता भएका छन् भने ११ घर पुरिएका छन् ।
यसैगरी भदौरेमा चार जनाको शव निकालिएको छ भने चार जना वेपत्ता रहेका छन् । दुर्वतर्फ २० जना भन्दा घाइतेको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीलाई उद्धृत गर्दै सहकर्मी प्रेम नेपालीले जनाएका छन । उनीहरुको उद्धार गरेर उपचारका लागि पोखरा लगिएको छ । घटनास्थल पोखराको लेकसाइडबाट १६ किलोमिटर पश्चिममा पर्छ ।
यसैगरी म्याग्दीको मुदी र मुनामा पहिरोमा पुरिएर बेपत्ता भएका सातजनाको शव भेटिएको छ । पहिरोले पुरिएर मुदी गाविस– ५ नेरवाङको गाखर्कमा एकै घरका तीन सहित छ जना र मुना गाविस– ४ कुनौटोमा एक बालिकाको मृत्यु भएको हो ।
त्यस्तै अविरल वर्षाका कारण चितवनमा पहिरोले पुरिएर र खोलाले बगाएर दुईजनाको मृत्यु भएको छ । काउले गाविस वडा नं ७ का हरिबहादुर चेपाङकी छ वर्षीया छोरी अरुणा चेपाङको घर पहिरोमा पुरिँदा मृत्यु भएको छ । यसैगरी, काउले गाविस वडा नं ६ को भोटेगाउँका २८ वर्षीय सुकबहादुर चेपाङको खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।