अवैध घरेलु मदिरा बरामद
विराटनगर, १४ साउन । विराटनगर २० को दरैया बस्तीबाट प्रहरीले आज एक सय ५० लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक गंगाप्रसाद पौडेलको नेत्रृत्वमा खटिएको टोलीले भारतसंग सीमा जोडिएको स्थानबाट मदिरा बरामद गरेको हो । अवैघ रुपमा छ्यापछ्याप्ती घरेलु मदिरा विक्री भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले खाजा नास्ता विक्री हुने विभिन्न पाँचवटा पसलबाट मदिरा बरामद गरेको हो ।
सीमावर्ती क्षेत्रमा दिनभर रिक्सा चलाउने र त्यहाँबाट आएको पैसाले घरेलु मदिरा पिउनेहरुको संख्या बढेसंगै कडाईपनि थालिएको प्रनि पौडेलले बताउनु भयो । ‘सीमा क्षेत्रमा घरेलु मदिरा विक्री वितरणले विकराल रुप लिएको पाइयो,’ उहाँले भन्नु भयो, ‘ दैनिक जसो मदिरा सेवनका कारण घरेलु झैझगडापनि बढेर गएको पाइयो ।’ बरामद गरिएको मदिरा आवश्यक कारवाहीका लागि प्रहरीले आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाउने तयारी गरेको छ ।