Live Streaming

बाढीले हाइड्रो पावर बगाउँंदा जनजीवन प्रभावित

छेटु शेर्पा

संखुवासभा, १४ साउन । बाढीले हेवाखोलाबाट उत्पादित चार हजार पाँच सय किलोवाट क्षमताको बरुण हाइड्रोपावर र मादी,संखुवासभा र बरुण क्याम्पसले सञ्चालन गर्दै आएको दुई सय ५० किलोवाट क्षमताको निगुरे हाइड्रोपावर बगाए पछि विद्युत भोल्ट कम भएको विद्युत प्राधिकरण वितरण कार्यालय खाँदबारीले जनायो । भोल्टेज नपुगे पछि महिनौ देखि उद्योग कलकारखाना सञ्चालन हुन सकेको छैन भने घरयासी कामकाज गर्न समस्या भएको छ । 

गत जेठ २८ को बाढीले जिल्लाका दुई हाइड्रोपावर बगाउदा सेवाग्राहीले कम भोल्टेजमा विद्युत प्रयोग गर्न बाध्य छन् । न्युनतम २३० भोल्ट विद्युत आवस्यक परे पनि हिजाआज १७० भोल्ट मात्र विद्युत प्रयोग गर्न बाध्य छन् । स्थानीय हाइड्रोपावरबाट उत्पादन भएको नौ मेघावट विद्युत नहुदाँ केन्द्रीय प्रशारणबाट मात्र संखुवासभामा १२५ भोल्ट बिद्युत आपुर्ती हुने गरेको खाँदबारी बितरण शाखाका निमित्त प्रमुख यज्ञराज दाहालले बताउनुभयो ।

हाल दुई बिद्युत गृहमा उत्पादन भएको विद्युत जडान गरी १७० भोल्ट विद्युत वितरण भई रहेको दाहालले बताउनुभयो । यो विद्युत भोल्ट उपयुक्र्त नभए पछि संखुवासभाबासीले तत्काल २३० भोल्ट विद्युत वितरण गर्न माग गरेका छन् । भोल्टेज नपुग्दा कुटानी पिसानी मिल, साना तथा ठूला उद्योग,सञ्चारगृह सञ्चालन पुर्ण रुपमा प्रभावित भएको छ । प्रत्येक स्टेशनको ३० किलोमिटरबाट विद्युत बितरण हुनु पर्ने भए पनि ५२ किलोमिटरको दुरीबाट विद्युत बितरण भएकाले पनि भोल्टेज चुहावट हुने गरेको प्राधिकरण बताउछ ।

संखुवासभामा मात्र तीन हजार चार सय ५० किलोवाट विद्युत खपत हुन्छ तर कम विद्युत आपुर्ती हुने भए पछि समस्या भएको प्राधिकरणले भनाई छ । सव स्टेशन निर्माणका लागि प्राधिकरणले पहल शुरु गरेको जनाए पनि हालसम्म बन्न नसकेकाले जिल्लाबासी विद्युत प्रयोग गर्न नसकेको गुराँस एफएमका स्टेशन मेनेजर गंगा बिष्टले बताउनुभयो । 

बरुण हाइड्रोपावरको (चार हजार पाँच सय किलोवाट)  जेनेरेटर,कन्ट्रोल प्यानल, भौतिक संरचना गरी १५ करोड बढीको क्षति पुगेर दुई महिनादेखि उत्पादन ठप्प भएको छ । यता निगुरे हाइड्रोपावरको(दुई सय ५० किलोवाट) हेड, ६० मीटर क्यानल र मेसिन गरी ७० लाख बढीको क्षति पुगे पछि उत्पादन हुन सकेको छैन । बरुण हाइड्रोपावरले मर्मतका लागि इन्सुरेन्ससँग क्लेम गरी मेसिन ल्याउने तयारी शुरु गरेको र एक बर्ष भित्रमा विद्युत उत्पादन शुरु गर्ने सञ्चालक डेडराज खड्का बताउनुभयो ।

निगुरेले भने मर्मतका लागि रकम जुटाउन पहल शुरु गरेको समितिका सदस्य तथा बरुण क्याम्पस प्रमुख टिकाराम गुरुङले बताउनुभयो । गुरुङका अनुसार क्याम्पसले विद्युत प्राधिकरणसँग २० बर्ष ठेक्का लिई सञ्चालन गरेको विद्युत गृह बन्द भए पछि मासिक १० लाख रुपैयाँ घाटा भएको छ ।