Live Streaming

कास्कीमा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुग्यो

पोखरा,१४ साउन । कास्कीको भदौरे तामागी र लुम्लेको छुट्टाछुट्टै पहिरोमा परि मृत्यु हुनेको संख्या १७ पुगेको छ । गएराति १ बजे भीषण वर्षासँगै लुम्ले माथि रहेको खानेपानीको ट्याङ्की फुटी पहिरो गएर घर पुरिँदा १३ जनाको मृत्यु भएको हो ।

१२ जना भन्दा बढी बेपत्ता भएका छन् भने ११ घर पुरिएका छन् । यसैगरी भदौरेमा चार जनाको शव निकालिएको छ भने चार जना वेपत्ता रहेका छन । दुवैतर्फ २० जना भन्दा घाइतेको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीलाई उद्धृत गर्दै सहकर्मी प्रेम नेपालीले जनाएका छन । उनीहरुको उद्धार गरेर उपचारका लागि पोखरा लगिएको छ । घटनास्थल पोखराको लेकसाइडबाट १६ किलोमिटर पश्चिममा पर्छ ।


यसैगरी म्याग्दीको मुदी र मोना गाविसमा खसेको पहिरोमा परी ५ जना बेपत्ता भएका छन् । मुदी गाविस ५ मा पहिरोले गोठ पुरिदा एकै घरका ३ सहित ४ जना र मोना गाविसको कुनौटामा पनि पहिरोले पुरिएर १ बालिका बेपत्ता भएकी छिन् । उनीहरुको खोजी कार्य जारी राखिएको छ । भारी बर्षापछि खसेको पहिरोले सो क्षेत्रका पशुचौपाय पनि पुरिएका छन् । बर्षापछि आएको बाढीका कारण मुदी र नेरवाङ झोड्ने पुल समेत बगाएको छ ।