नेपालको सम्मनजनक पराजय
एजेन्सी,१४ साउन । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग ३ रनको झिनो अन्तरले पराजित भएको छ । गएराती भएको खेलमा नेपालका लागि अनिल मण्डलले सतकिय पारी खेलेपनि हार टार्न सकेनन् ।
स्कटल्यान्डले दिएको २३६ रनको लक्ष्य पछ्याएको नेपालले ५ विकेट गुमाउँदै २३२ रनमात्र बनाउन सकेपछि झिनो पराजय भोग्न बाध्य भयो । नेपालका लागि ओपनर अनिल मण्डलले ९१ बलमा ९७ रन जोडको क्रिक इन्फोले जनाएको छ भने आइसिसि को अफिसियल वेभसाइट र स्कटल्याण्ड क्रिकेटले सय रन जोडेको जनाएको छ ।
उनको पारीमा ९ चौका र १ छक्का सामेल थियो । त्यसैगरी कप्तान पारस खड्काले ५७ बलमा ७७ रन बनाए । त्यस क्रममा उनले २ छक्का र ५ चौका हाने । त्यसैगरी अर्का ओपनर महेश क्षेत्रीले ३९ बलमा २१ रन बनाए । यसअघि उपकप्तान ज्ञानेन्द्र मल्ल २४ बलमा १८ रन बनाइ आउट भएका थिए ।
नेपालका लागि सोमपाल कामीले ११ रनको योगदान दिए । अन्यले दोहोरो स्कोर गरेनन् । पहिले ब्याटिङ गरेका स्कटल्यान्डले पुरै ३६ ओभर खेल्दै २३५ रन जोडेको थियो । नेपालका लागि पारस खड्का र बसन्त रेग्मीले २–२ विकेट लिए । त्यसैगरी सोमपाल कामी र करण केसीले १–१ विकेट लिए । नेपालले स्कटल्यान्डसँगको दोस्रो खेल भोली खेल्ने छ ।