Live Streaming

अविरल वर्षासँगै आएको पहिरोमा पुरिएका आठ जनाको शव भेटियो

पोखरा,१४ साउन । कास्कीको भदौरे तामागी र लुम्लेमा छुट्टाछुट्टै पहिरोमा परि पुरिएका आठ जनाको शव भेटिएको छ ।  १५ जनाभन्दा बढी बेपत्ता भएका छन् । राती सुतेका बेलामा गएको पहिरोले लुम्लेमा ४ जना र भदौरे तामागीमा ४ जनाको ज्यान गएको हो । राति १२ बजे आएको पहिरोले घर पुरिँदा भदौरे तामागी–५ डुँडे फाँटकी गौरी पराजुली र उनका छोरा करण पराजुलीको ज्यान गएको हो । अन्य मृतकको सनाखत हुन बाँकी छ ।

दुवै ठाउँमा गरी २ दर्जन भन्दा बढी घर पुरिएका छन् । १४ जना घाइतेको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीलाई उद्धृत गर्दै सहकर्मी प्रेम नेपालीले जनाएका छन् । यद्यपी  पहिरोले सडक अवरुद्ध र पुलसमेत बगेकाले थप उद्धारकर्ताहरु पुग्न कठिन भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार स्थानीय शान्ति पराजुली, विमला विक, सविना पराजुली, विनोद विक, नम्रता पराजुली, निरु पराजुली, अञ्जनी पराजुली, तुलसी पराजुली, खुशी विक, कमल सुनार, अन्तिम सुनार, सुस्मा सुनार र उत्सव सुनार गम्भीर घाइते भएका छन् । उनीहरुको उद्धार गरेर उपचारका लागि पोखरा ल्याउने प्रयास भइरहेको छ । घटनास्थल पोखराको लेकसाइडबाट १६ किलोमिटर पश्चिममा पर्छ ।

यसैबिच अविरल वर्षाका कारण गएको पर्वतको तिलाहारस्थित मौरीभीरमा खसेको पहिरोले पोखरा बाग्लुङ राजमार्ग अवरुद्ध बनाएको छ ।  रातीदेखिनै अवरुद्ध बनेको सडक खुलाउनका लागि पहल भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । अहिले डोजरले सडक पन्छाउने काम गरिरहेको र दिउँसोदेखि खुल्ने प्रहरीले जनाएको छ । त्यस्तै पर्वतको पाङ गाविसस्थित सहस्रधारामा पनि सडक माथिबाट आएको पहिरोका कारण अवरुद्ध बनेको छ । 
 
यसैगरी अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग र काठमाडौँ–हेटौडा सडकखण्ड अवरुद्ध भएका छन । काठमाडौं छिर्ने मुख्य नाका नागढुंगा र अरु वैकल्पिक नाकाबाट समेत गाडीको आवागमन प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ । धादिङको जोगिमारामा गएराती पहिरो खस्दा नागढुंगा हुँदै काठमाडौं भित्रिने र बाहिरिने गाडी ठप्प भएका छन । पानी पर्न छोडेपछि अहिले त्यहाँ बाटो एकतर्फी खुलाउने प्रयास भैरहेको ट्राफिक प्रहरीले जनाएको छ । यस्तै काठमाडौं हेटौंडा सडकखण्डमा पनि ठाउँ ठाउँमा पहिरो खसेको छ । यस्तै काठमाडौंबाट नुवाकोट जाने आउने गाडी पनि चल्न सकेका छैनन् । नुवाकोटको मुड्कु सडकखण्डको ३५ किलोमा लगातारको झरीका कारण सडक माथिको पहाड चिरा परेर खस्ने अवस्थामा रहेकाले जोखिम बढेको छ ।