Live Streaming

आमाको अपराधले साना छोराछोरी पनि जेलमा

भवानी अधिकारी

स्याङ्जा,१३ साउन । स्याङ्जा कारागारमा आमाको अपराधमा दुई नाबालक र एक बालिका पनि सजाय भोगिरहेका छन् । अपराध गरेकाले कारागारमा बन्दी जीवन बिताइरहेका आफ्ना आमासँगै ती बालबालिका पनि आश्रित भएका हुन् ।

 ज्यान मुद्दाको अभियोगमा केवरेभन्ज्याङ गाविसकी २१ वर्षीया कल्पना विक, चोरीको अभियोगमा चापाकोट नगरपालिकाका ५० वर्षीया मनकुमारी सार्की र बहुविवाह अभियोगमा चापाकोट नगरपालिकाकी २० वर्षीया पुनिता जीटीसँग उनीहरूका छोराछोरी पनि कारागारमा बस्दै आएका छन् ।

 आफ्नै सौताकी आठ वर्षीया छोरी रीता विकको हत्या अभियोगमा सजाय भोग्दै आएकी कल्पनासँगै ९ महिनाका बालक बन्दीगृहमा छन् । केवरेभन्ज्याङ गाविस निवासी विकलाई योजनाबद्ध रूपमा सौतेनी छोरीलाई झुन्ड्याएर मारी खाडलमा पुरेको आरोपमा पुर्पक्षका लागि कारागारमा राखिएको हो ।

 अदालतले बहुविवाहको कसुर ठहर्दै पुनिता र हरिलाई एक वर्ष जेल र पाँच हजार नगद जरिबाना सुनाएको छ । कात्तिकदेखि उनीहरू दुवैजना कारागारमा बन्दी जीवन बिताइरहेका छन् । तर उनीहरूका नाबालकले बिनाकसुर कारागारमा बन्दी हुनुपरेको छ ।

 जेठी पत्नी रीमा सिञ्जाली घिमिरे हँदा चापाकोट नगरपालिका ४ बस्ने ३० वर्षीय हरि घिमिरेले दुई वर्षअघि २० वर्षीया पुनितासँग विवाह गरेका हुन् । जेठी पत्नी रिमाले आफ्ना पति हरिले बहुविवाह गरेको र आफूलाई वास्ता नगरेको भन्दै प्रहरीकहाँ उजुरी गरिन् । प्रहरीले पक्राउ गरी कानुनी कारबाही अघि बढायो र जेल सजायसमेत सुनायो । त्यतिबेला पुनिता गर्भवती थिइन् ।

 त्यस्तै चोरी मुद्दाको आरोपमा तत्कालीन चापाकोट गाविसकी मनकुमारी सार्कीलाई अदालतले २०५७ भादौमा एक महिना कैद र २० हजार जरिबाना तोकेको थियो । त्यसपछि फरार भएकी उनलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेर जेलचलान गरेको छ । उनका पतिको मृत्यु भइसकेको छ । आफन्त कोही नभएको भन्दै सार्कीले आफूसँगै ११ वर्षीय बालिका पनि कारागारमै राख्न बाध्य भएको बताइन् । बालिका पनि बिनाकसुर कारागारमा बस्न बाध्य भइन् । स्थानीय विद्यालयमा कक्षा ५ मा अध्ययनरत ती बालिका अहिले आमासँगै बन्दी जीवन बिताइरहेकी छन् ।

 जरिबाना रकम २० हजार तिर्ने क्षमता आफूसँग नभएको र सो रकम भुक्तानीका लागि पनि कारागारमै बस्ने निर्णय गरेको मनकुमारीले बताइन् । कारागारमा हाल एक सय १८ जना कैदीबन्दी रहेका कारागार प्रमुख चोलाकान्त रेग्मीले जानकारी दिए । तीमध्ये एक सय पाँच पुरुष, १० महिला र तीन बालबालिका छन् । २०३६ सालमा निर्माण गरिएको कारागार शाखाको नयाँ भवन बन्न सकेको छैन ।