हिन्दु राज्य माग्दा झडप,दुईदर्जन आन्दोलनकारी घाइते
रत्नप्रसाद आचार्य
इटहरी,१३ साउन। हिन्दु राज्य माग गर्दै सडक सर्घषमा उत्रिएका सनातन हिन्दु राष्ट संर्घष समितिका कार्यकर्ता र प्रहरीबीच सुनसरीको इटहरीमा झडप भएको छ। झडममा परी दुई दर्जन भन्दा बढी घाइते भएका छन्।
हिन्दु राज्यको माग गर्दै सडक बन्द गराउदै हिडेका संर्घष समितिका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर सडक खुलाउन खोज्दा झडप भएको हो। झडपमा राप्रपा नेपाल इटहरी नगर सभापति रामु पोख्रेल गंभिर घाइते भएका छन्।टाउकोमा गम्भीर चोट लागेर बेहोस भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
प्रहरीले शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको भन्दै आक्रोशित बनेका प्रर्दशनकारी प्रहरीविरुद्ध जाइलागेपछि केहीबेर स्थिति तनावपूर्ण भएको थियो। झडपमा परी एक दर्जनभन्दा बढी प्रर्दशनकारी घाइते भएको राप्रपा नेपालले जनाएको छ।प्रहरी कार्यालय इटहरीका डिएसपी विनोद शर्माले झडप भए पनि स्थिति अहिले सामान्य रहेको बताए।
हिन्दु राज्यको माग गरी प्रहरीमाथि आक्रमण गर्ने ११ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा आन्दोलका अगुवा धार्मिक गुरु श्री निवासाचार्य, घनश्याम आचार्य, कृष्ण गिरी, बासुदेब भट्टराई, संगिता कार्की, सावितत्रा तिम्सिना, केशव न्यौपाने, सविता कोइराला, गंगा भट्राई, विदुर नेपाल, र मशेस साह छन्। प्रहरीमाथि आक्रमण गरेको, प्रहरी र सार्वजनिक यातायात तोडफोड गरेको अभियोगमा सार्वजनिक मुद्दा दर्ता गरी कारबाही अघि बढाइने डिएसपी शर्माले बताए।
प्रहरीले प्रर्दशनकारीलाई पक्राउ गरेपछि प्रर्दशनकारीले इलाका प्रहरी कार्यालय घेराउ गरी प्रहरी कार्यालय तोडफोडको प्रयास गरेका थिए। मंगलवार आन्दोलनकारी र सुनसरीका प्रमुख जिल्ला अधिकारी रविराज पन्त, प्रहरी प्रमुख सञ्जय शर्मासंग भएको छलफलमा शान्तिपूर्ण आन्दोलन गर्ने सहमति गरे पनि प्रर्दशनकारीहरु बन्द हड्तालमा उत्रिएपछि प्रहरीले बल प्रयोग गर्नु परेको शर्माले बताए।