कालिदमारमा बन्ने भयो ‘नमूना गाउँ’
ललितबहादुर बुढा
सुर्खेत,१२ साउन । विचारसहितको मानव, स्रोतसहितको पर्यावरण र समृद्ध जीवनपद्दती । त्यत्ति मात्र होइन प्रतिमहिना न्युनतम आय १५ हजार हुनेछ, पूर्वाधारले सम्पन्न । कृषिमा व्यवसायीकरण, आधुनिक शिक्षाको उपलब्धता र न्युनतम चारवटा ठूला उद्योग सञ्चालन ।
पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका–८ कालिदमारमा ‘नमूना पर्यावरणीय गाउँ’ निर्माणका लागि सुर्खेत उद्योग वाणिज्य संघले गरेको परिकल्पना हो, यो । आर्थिक, सामाजिक, पर्यावरणीय र सीप विकाससहितको समृद्ध गाउँ निर्माणका लागि विभिन्न सरोकारवालाहरुसँग समन्वय गरी संघले माथि उल्लेख गरिए अनुसारको नमूना गाउँ निर्माणका लागि पहल अघि बढाएको छ । पहिलो चरणमा भेरीगंगाको कालिदमारलाई नमूना गाउँ निर्माणका लागि काम सुरु गरिएको छ । यद्यपी संघले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा एक÷एक वटा यस्ता नमूना पर्यावरणीय गाउँ निर्माणको परिकल्पना गरेको छ ।
उद्योग वाणिज्य संघको परिकल्पनालाई साकार पार्न भेरीगंगा नगरपालिका, अर्गानिक माउण्टेन प्लेभर प्रालि र कालिदमार ग्रामिण विकास समितिले पहल गरेका छन् । कालिदमारका स्थानीयवासीहरुले नमूना गाउँ बनाउन अभियान सञ्चालन गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
नमूना गाउँ निर्माण भएमा पूर्वाधारले सम्पन्न हुने, दिगो कृषि प्रणाली अलबम्बन गरिने, आधुनिक शिक्षा प्रदान गरिने, कृषिमा आधुनिकिकरण र व्यवसायिकरण हुने, यहाँका नागरिकहरु सबै स्वरोजगार हुने, गाउँमै उद्योग स्थापना गरी उत्पादनशिल कार्यमा लाग्ने र पर्यावरणको संरक्षण गरी त्यसको अधिकतम उपयोग गर्न सकिने जनाइएको छ ।
भेरीगंगा नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद शर्माले पर्यावरणको संरक्षण र सदुपयोगबाटै यहाँका नागरिक समृद्ध बन्न सक्ने बताए । उनले स्रोतले सम्पन्न पर्यावरण भएपनि त्यसको संरक्षण र सही सदुपयोग गर्न नसकिएको भन्दै नमूना पर्यावरणीय गाउँ निर्माणले यसको संरक्षण र सदुपयोग दुवैमा ध्यान दिने जनाए ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले नमूना पर्यावरणीय गाउँ आर्थिक रुपमा, सामाजिक रुपमा र पूर्वाधारण विकासको दृष्टिकोणले पनि समृद्ध हुने बताए । उनले कालिदमारमा नै न्युनतम चार वटा उद्योग स्थापना गरिने भन्दै यसले एकातर्फ रोजगारीको सिर्जना गर्नुका साथै गाउँको चौतर्फी आर्थिक समृद्धिमा टेवा पुग्ने जनाए । नमूना गाउँमा उद्योगमा लगानीको वातावरण सिर्जना गर्नुका साथै स्थानीय स्तरमा उत्पादित वस्तुहरुको निर्यातमा जोड दिईने समेत अधिकारीले बताए ।
नमूना पर्यावरणीय गाउँ निर्माण हुने भएपछि कालिदमारका स्थानीयवासी पनि खुसी भएका छन् । उनीहरुले यसका लागि आफूहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् । कालिदमार ग्रामिण विकास समितिका अध्यक्ष हरीबहादुर नेपाली अब आफ्नो गाउँको मुहार फेरिनुका साथै वर्षौदेखि अभाव र कष्ट भोग्दै आएका यहाँका स्थानीयवासीहरु पनि समृद्ध जीवन बाँच्न पाउँने विस्वासमा छन् । उनले गाउँलाई जसरी पनि नमूना गाउँ बनाएरै छोड्ने प्रतिवद्धता जनाए ।
नमूना पर्यावरणीय गाउँ निर्माणका लागि ३० वर्षे दिर्घकालिन योजना अघि सारिएको छ । नमूना गाउँले समेट्ने क्षेत्रमा अहिले करिब साढे दुई सय घर छन् । सुर्खेतदेखि कोहलपुर जोड्ने रत्न राजमार्ग अन्तर्गत छिन्चु नजिकको गाउँ कालिदमार अहिले ‘तरकारी गाउँ’को रुपमा परिचित छ । यहाँबाट वार्षिक झण्डै दस लाख रुपैयाँ बराबरको तरकारी निर्यात हुने गरेको छ । यस गाउँलाई औद्योगिक क्षेत्र तथा पर्यटकीय गन्तव्यको रुपमा समेत विकास गर्न सकिने सम्भावना रहेको जनाइएको छ ।