बाढीपहिरो थाहा पाउन पहाडको लेजर स्क्यान

पिताम्बर सिग्देल
काठमाडौं, १२ साउन । भूकम्पपछि कमजोर बनेको जमिनमा बाढीपहिरोको सम्भावना पत्ता लगाउन डाँडाकाँडाको लेजर स्क्यान गर्न थालिएको छ । अप्ठ्यारा पहाड र खोंचमा पहिरोको खतरा थाहा पाउन तथा भौगोलिक अवस्थितिबारे जानकारी लिन जर्मन तथा नेपाली वैज्ञानिकको समूह लेजर स्क्यानर बोकेर भोटेकोसी किनारमा निस्किएको छ ।
नेपालमा पहिलोपटक प्रयोग गरिएको ‘रेगल भिजेड ६००० लेजर स्क्यानर’ ले भोटेकोसी आसपासका हजारौं क्षेत्र स्क्यान गरिसकेको छ । जर्मन वैज्ञानिकले लिएर आएको यो प्रविधि नेपालमा छैन । पहिलोपटक प्रयोग भइरहेको लेजर स्क्यानले ६ किलोमिटर टाढासम्मको भौगोलिक अवस्थिति र भूबनोटकोे जानकारी संकलन गर्छ ।
टोलीमा संलग्न त्रिभुुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक वसन्तराज अधिकारीका अनुुसार नेपालमा प्रयोग भइरहेको लेजर स्क्यानर विश्वमै सबैभन्दा पछिल्लो प्रविधि हो । अस्ट्रेलियामा बनेको यसको मूल्य डेढ करोड रुपैयाँभन्दा बढी पर्छ । यसले पहाडको स्क्यान गर्छ । अधिकारीका अनुुसार स्क्यानरलाई कुुनै एउटा विन्दुुमा राखिन्छ र तीनवटा रिफ्लेक्टर (तस्बिर हेर्ने) समेत राखिन्छ ।
यसबाट जमिनमा लेजर पठाइन्छ र त्यसैले हरेक बिन्दुु र कोणको तस्बिरसहितको जानकारी कम्प्युुटरसम्म पठाउँछ । हरेक बिन्दुुमा जीपीएस ट्याकरसमेत राखिएको हुुन्छ । जसले संकलित विवरणको अवस्थिति र स्थानबारे रेकर्ड राख्न सजिलो हुुन्छ ।
स्क्यानरले देखेको वरिपरिको भूगोल जस्ताको तस्तै तस्बिरका रूपमा यसले उपलब्ध गराउँछ । ‘स्क्यानरले देख्ने क्षेत्रभित्र हरेक एकएक मिटरको सूचना यसले उपलब्ध गराउँछ । प्रत्येक मिटरका सूचना अलगअलग विश्लेषण गर्न मिल्छ’, अधिकारीले भने, ‘नेपालको भौगोलिक बनोटले समेत पहिरोको सम्भावना भएका स्थान र अवस्थाबारे अध्ययन गर्न अप्ठ्यारो भएको अवस्थामा यस्ता प्रविधि उपयोगी हुुन्छन् ।’
लेजर स्क्यानरले उपलब्ध गराएका तथ्यांक विभिन्न सफ्टवेयरको सहयोगले विश्लेषण गरिन्छ । भोटेकोसीसँगै कालीगण्डकी क्षेत्रको समेत अध्ययन गर्ने जानकारी अधिकारीले दिए ।यी दुुवै क्षेत्र पहिरोका दृष्टिकोणले सधैं जोखिमका स्थान हुुन् । भूकम्पपछि कालीगण्डकीमा आएको पहिरोले खोला थुुनिँदा बस्ती नै बगाएको थियो भने भोटेकोसीमा हरेक वर्ष आउने बाढीपहिरोले ठूलो जनधनको क्षति गरिरहेको छ ।
जुुरेमा आएको पहिरोले गत वर्ष करिब चार सयजनाको ज्यान लिएको थियो । वैज्ञानिकहरूले पहिरोको जोखिम भएका यी दुुवै स्थानको अध्ययन गरी तुुलनात्मक रूपमा तथ्यांक विश्लेषण गर्ने बताएका छन् । अहिले अध्ययन गरिएकै ठाउँमा मनसुुन सकिएपछि फेरि तथ्यांक संकलन गरी तुुलनात्मक अध्ययन गर्ने योजना छ ।
‘यसो गर्दा कुुन पहाड वा खोंच कता सर्यो वा हल्लियो थाहा पाउन सकिन्छ,’ अधिकारीले भने, ‘कहाँ कति खतरा छ, के के भयो थाहा पाएपछि अर्को वर्षका लागि सचेतना अपनाउन सकिन्छ ।’