आफन्त नै ओसार्छन् बालबालिका

ललितबहादुर बुढा
सुर्खेत: गाउँको जानेबुझेको केटो, पटकपटक काठमाडौ गइरहन्थ्यो । राष्ट्रवादी एकता पार्टीको केन्द्रीय सदस्य, त्यत्तिमात्र होइन आफ्नै भतिज् । परिवारभित्रकै भतिजप्रति उनले अविस्वास गर्ने कुरै भएन । छोराहरुलाई काठमाडौ लगेर निःशुल्क पढाइ दिन्छु भनेपछि धैनकोट–९ मुगुका भिमबहादुर मल्लले पनि आँखा चिम्लेरै आफ्ना दुई छोरालाई उनै भतिज् धनमानसिंह मल्लको जिम्मा लगाइदिए ।
गाउँमा सबैले नेता स्वीकारेका, बाठोटाँठो र पढेलेखेका धनमानसिंहले काठमाडौमा लगेर राम्रो शिक्षा दिने र ठूलो मान्छे बनाइदिने आश्वासन दिएपछि गाउँलेहरु पनि हौसिए । विकट गाउँमा अभावसँगै रुमल्लिएका आफ्ना सन्तानले राजधानी जस्तो ठाउँमा पढ्न पाउने लोभमा गाउँलेहरुले आफ्ना छोराछोरीलाई धनमानको जिम्मा लगाइदिए । त्यत्तिमात्र होइन, काठमाडौमा पढ्न पाउने भएपछि स्थानीय अभिभावकहरु आफ्ना छोराछोरीलाई पु¥याउन बाजुरासम्म पुगे ।
तर, जब ती बालबालिकाहरुसहित धनमानसिंह सुर्खेतमा पक्राउ परे, त्यसपछि मात्र धैनकोट मुगुका अभिभावकहरु छाँगाबाट खसेजस्तै भए । कारण, धनमानले पढाउनका लागि नभई अवैध कार्यका लागि बालबालिका ओसार्न लागेको जानकारी उनीहरुले प्रहरीबाट पाए । सुर्खेत प्रहरीले काठमाण्डौ लैजादै गरेको अवस्थामा सुर्खेतको छ्रिन्चुबाट मुगुका ११ जना बालबालिकालाई उद्धार गरेपछि यसबारेमा थप रहस्य खुलेको हो ।
उद्धार गरिएका बालबालिकालाई जिल्ला बाल कल्याण समिति सुर्खेतले आइतवार अभिभावकको जिम्मा लगाइएको छ । आफन्तले नै आफ्ना सन्तानलाई अवैध कार्यका लागि लिन लागेको जानकारी प्रहरीबाट पाएपछि अभिभावकहरु पनि छक्क परे । आफ्ना छोराछोरी लिन सुर्खेत आइपुगेका धैनकोटका भिमबहादुरले भने, ‘मेरा चार सन्तान छन्, दुई छोराले निशुल्क पढ्न पाउने भए ।
दुई छोरालाई आफै घरमा पढाइ हाल्छु भन्ने सोचेर भतिजको जिम्मा लगाएको थिएँ, धन्न सत्रुले बेच्ने रहेछ ।’ आफ्नै दाइको छोराले यस्तो कार्य गर्ला भन्ने उनले सोचेका पनि थिएनन् । उनी भन्छन्, ‘हामीबाट गल्ती भयो, अब कहिल्यै पनि छोराछोरीलाई अर्काको जिम्मा लगाएर पठाउने छैनौं ।’ उद्धार गरिएका सबै बालबालिकाहरु १२ वर्ष भन्दा मूनिका छन् । उनीहरु गाउँकै विद्यालयमा प्राथमिक तहमा अध्ययनरत थिए ।
धैनकोट–८ का बलबहादुर रोकायले गाउँमा पढाई राम्रो नहुने र आर्थिक अभावका कारण आफूहरुले काठमाडौ पढ्नका लागि भनेर बालबालिकालाई पठाएको बताए । प्रहरीले बेचिन लागेको भन्दै खबर गरेपछि मात्र उनको होस खुल्यो । सुर्खेतमा आफ्ना छोराछोरीलाई सकुशल भेटेपछि उनले भने, ‘हामीबाट महागल्ती भएछ, आफ्नै भनेर विस्वास गरेर जिम्मा लगाएका थियौं । प्रहरीले नसमातेको भए मेरो छोरोलाई भेट्न नपाउने रहेछु ।’
यसरी ग्रामिण क्षेत्रका बालबालिकालाई विभिन्न वहानामा ललाईफकाई ओसार्ने गिरोह पछिल्ला केही वर्षयता सक्रिय भएको पाइएको छ । विशेषगरी कर्णाली अञ्चलका जिल्लाहरुबाट रोजगारी र शिक्षा दिने प्रलोभनमा बालबालिकाहरु ओसार्ने गरिएको छ । जिल्ला बाल कल्याण समिति सुर्खेतका बालअधिकार अधिकृत रमा भण्डारीले आफन्तहरुबाटै बालबालिकाहरु असुरक्षित भएको बताईन् ।
उनले भनिन्, ‘बालबालिका ओसार्ने काममा महिलाहरु पनि सक्रिय देखिएका छन्, आफ्नै नातेदारहरुले प्रलोभन देखाउने भएकाले अभिभावकहरु पनि बालबालिका जिम्मा लगाउँछन् । यसले गर्दा यस क्षेत्रमा बालबालिकाहरु ओसार्ने क्रम बढ्दै गएको छ ।’ उनका अनुसार पछिल्लो दुई वर्षमा झण्डै डेढ सय बालबालिकाहरुलाई सुर्खेतबाट उद्धार गरिएको छ । यसअघि कालिकोटबाट काठमाण्डौ लैजादैं गरिएका ४० जना र सल्यानबाट भारततर्फ लैजादैं गरिएका ३८ जना बालबालिकालाई पनि जिल्ला बाल कल्याण समितिले प्रहरीको सहयोगमा सुर्खेतबाट उद्धार गरेको थियो । जनचेतनाको कमी र गरिबीका कारण बालबालिकाहरु बेचबिखन तथा अवैध कार्यमा प्रयोग हुने गरेको भण्डारी बताउँछिन् ।
पछिल्लो घटनामा राजनीतिक पार्टीको समेत संलग्नता रहेको पाइएको छ । बाल अधिकृत भण्डारीका अनुसार राष्ट्रवादी एकता पार्टीका केन्द्रीय अध्यक्ष उमा श्रेष्ठको निर्देशनमा धनमानसिंहले मुगुबाट बालबालिकाहरु काठमाण्डौ पु¥याउन लागेका थिए । दलको आडमा बालबालिकाहरु ओसार्न थालिएको भन्दै भण्डारीले अब सबै नागरिकहरु सचेत हुनुपर्ने बताईन । साथै अभिभावकहरु समेत चनाखो हुनुपर्ने उनको भनाई छ । बालबालिका ओसार्ने धनमानसिंहलाई सुर्खेत प्रहरीले नियन्त्रणमा राखेको छ । यस्तै राष्ट्रवादी एकता पार्टीका केन्द्रीय अध्यक्ष उमा श्रेष्ठमाथि पनि थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ । अवैध कार्यमा संलग्न गराउन र बेचबिखनका लागि बालबालिकाहरु ओसार्ने गरिएको प्रहरीको भनाइ छ ।