सेयर बजारमा उत्साह

गजेन्द्र विष्ट
काठमाडौं,११ साउन । चालू आर्थिक बर्वाको बजेट र मौद्रिक नीति सार्वजनिक भैसकेकोले लगानीकर्तामा बढेको आत्मविश्वाससँगै सेयर बजारमा ठूलो उत्साह देखिएको छ। भूकम्पका कारण नेप्सेको वृद्धि गति रोकिए पनि दाताहरूले भूकम्पको घाउ निको हुने ढंगले सहयोगको प्रतिवद्धता व्यक्त गरेपछि सेयरका लगानीकर्तामा उत्साह देखिन थालेको थियो।
बजेट र मौद्रिक नीति सार्वजनिक भैसकेको, बजार बढ्नेगरी नीतिको घोषणा भएको, असार मसान्तमा कर्जाको ब्याज भुक्तानीको चाप सामान्य भैसकेको र अधिकांश बैंक तथा वित्तीय संस्थाको वासलात राम्रो देखिएकोले बजारमा उत्साह देखिएको हो। बजारमा गतहप्तादेखि आएको उत्साहसँगै कारोबारमापक नेप्सेले पुरानो सबै रेकर्ड तोड्ने विश्लेषकहरूको अनुमान छ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गरी बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धिको घोषणा गरेपछि पुँजी बजारमा थप सकारात्मक सन्देश गएको छ र बजार ह्वात्तै बढ्न थालेको छ। मौद्रिक नीति सार्वजनिक भएकै दिन बजार ४० अंकले बढ्यो र आगामी दिनमा पनि बजारले छलाङ मार्ने अनुमान गरिँदैछ । लगानीकर्ताले सजिलो विश्लेषण गरेका छन्।
पुँजी वृद्धिका लागि कमाउने बैंक तथा वित्तीय संस्थाले बोनस सेयर दिनेछन वा हकप्रद सेयर जारी गर्नुपर्नेछ। यस्तो निर्णय गर्ने क्षमता नभएकाले मर्जरमा जानुपर्नेछ । मर्जरमा जाँदा पनि त्यस्ता संस्था सशक्त हुने भएकोले सेयरका लगानीकर्ता मूल्य बढ्नेमा ढुक्क छन् र पैसा खन्याइरहेका छन्।
विश्लेषकहरू भन्छन्, बजार १५ सय अंक ननाघुन्जेल यही गतिमा बढ्नेछ। अहिलेको मूल्यमा करिब ६०।७० प्रतिशतले बढ्दा पनि लगानीकर्तालाई खरिदको लाभ हुने भएकोले खरिदमा दबाब परी बजार अत्यधिक मात्रामा बढ्नेछ। १५०० अंक नै नभनौं तर नेप्सेले पुराना सबै रेकर्ड तोड्ने स्थिति देखिदैछ।
राष्ट्र बैंकका अनुसार आगामी ७४ सालभित्र वाणिज्य बैंकहरूले पुँजी बढाएर आठ अर्ब पुर्याउनुपर्नेछ । अहिलेको क्षमता हेर्दा नेपाल इन्भेस्टमेन्ट बैंक, नविल, प्रभु, ग्लोबल जस्ता बैंकले सजिलै आठ अर्ब पुँजी कायम गर्न सक्नेछन्। यी बैंकले बोनस सेयर वितरण गरेरै उक्त पुँजीकोष कायम गर्न सक्नेछन ।
तर, अन्य बैंकले भने गत वर्ष र चालू वर्षको नाफाबाट बोनस सेयर दिएर केही पुँजी वृद्धि गर्न सक्छन् । बाँकी हकप्रद सेयर दिनुपर्ने हुन्छ या मर्जर तथा एक्विजिसनमा गएर पुँजी थप्नुपर्ने हुन्छ। मर्जरका लागि अब बैंक र बैंक तथा बैंक र विकास बैंक तथा वित्त कम्पनीबीच सम्झौता हुनेछन भने विकास बैंकका लागि पनि पुँजी थप्नुपर्ने भएकोले विकास बैंक र वित्त कम्पनीबीच पनि यस्तो सम्झौता हुनेछ।
राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंक हुन दुई अर्ब ५० करोड रुपैंयाँ, चारदेखि १० जिल्ला कार्यक्षेत्र हुनेलाई एक अर्ब २० करोड, तीन जिल्लासम्म कार्यक्षेत्र हुनेलाई ५० करोड चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरेको छ । यसैगरी वित्त कम्पनीलाई राष्ट्रियस्तरका र चारदेखि १० जिल्ला कार्यक्षेत्र भएकालाई ८० करोड र एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएकालाई ४० करोड चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरेको छ । यस्तो दबाबकारी व्यवस्थाले उनीहरूलाई मर्जरका लागि पनि ठूलो दबाब हुनेछ।
प्रतिस्पर्धात्मक वातारणमा लगानी विस्तार गर्दा आवश्यक पुँजी थप्नुपर्ने पूर्वव्यवस्था भएपनि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जका लागि पुँजी वृद्धिको बाध्यकारी व्यवस्था गरिदियो । मर्जर र एक्विजिसन भएर बैंक अझ सुदृढ हुनेछन र लगानीकर्ताको प्रतिफल अझ सुरक्षित नै हुनेछ । बैंक तथा वित्तीय क्षेत्र तुलनात्मकरुपमा व्यवसायिक छ, पारदर्शी छ र केही हदसम्म संरक्षित पनि ।
त्यसैले मैले लगानीकर्तालाई बैंकमा लगानीका लागि सल्लाह दिने गरेको थिए। यस क्षेत्रमा लगानी गरेकाले बढ्ने मूल्यसँगै नाफा कमाउने प्रवल संभावना रहेको छ । सेयरमा एकरूपता कायम हुँदा केही समयलाई आपूर्ति बढ्ने जोखिमबाहेक व्यवसायिक जोखिम त त्यति छैन । तर, लगानीकर्ताले सावधानीपूर्वक लगानी गर्नुपर्छ ।
बजेट र मौद्रिक नीति सार्वजनिक भैसकेको, बजार बढ्नेगरी नीतिको घोषणा भएको, असार मसान्तमा कर्जाको ब्याज भुक्तानीको चाप सामान्य भैसकेको र अधिकांश बैंक तथा वित्तीय संस्थाको वासलात राम्रो भएकाले बजारमा उत्साह देखिएको हो।
(लेखक अर्थमन्त्रीका प्रेस सल्लाहाकार तथा आर्थिक पत्रकार समाजका पूर्वअध्यक्ष हुन् )