Live Streaming

आज हरिशयनी एकादशी

काठमाडौं,११ साउन । आज हिन्दू धर्म अनुसार घरआँगनमा रहेको तुलसी मठमा विधिपूर्वक तुलसीको बिरुवा रोप्ने गरिन्छ । तुलसीलाई भगवान विष्णुको स्वरुप मान्ने गरिन्छ । आजको दिन ब्रत बस्ने तथा आरोग्यदायक, महाऔषधीय गुण भएको तुलसी घरआँगनमा रोपेर भगवान विष्णुको प्रतीकका रुपमा पूजा गर्ने चलन छ ।


पौराणिक कथन अनुसार मुर नामको दैत्यको आतंकबाट देवताहरुलाई मुक्ति दिलाउन भगवान विष्णुले ठूलो संघर्ष गर्नुपरेको र युद्धको थकानबाट विश्राम लिन बद्रीआश्रममा रहेको हेमवती गुफामा गई शयन गरेको भन्ने मान्यताका साथ आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो ।


हरिशयनी एकादशी संगै आजैदेखि चतुर्मास ब्रत पनि सुरु भएको छ । भगवान विष्णु आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीको दिन शयन गरी कात्र्तिक शुक्ल एकादशीको दिन ब्यूँझने मान्यताका साथ चतुर्मास भरी विष्णुको पूजा गर्ने, ब्रत बस्ने चलन छ । तुलसी धार्मिक मात्र नभई वैज्ञानिक तथा औषधीय हिसाबले पनि निकै उपयोगी वनस्पति हो ।