कार्यकारी अधिकृतमाथि कालोमोसो दलेर दुव्र्यवहार

चितवन, १० साउन । विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटालाई आज बिहान कालोमोसो दलेर दुव्र्यवहार गरेका छन् ।
उपमहानगरपालिका परिसरभित्रै पसेर माओवादी कार्यकर्ताले सापकोटालाई कालोमोसो दलेका हुन् । सापकोटाले भ्रष्टाचार गरेकाले कालोमोसो दलेर सचेत गराइएको जिल्ला सेक्रेटरी महेश चौधरीले बताउनुभयो ।
चेतावनीस्वरुप कालोमोसो दलेको उहाँले उल्लेख गर्नुभयो । घटनापछि छरिएको पर्चामा सापकोटाले जनताको करबाट उठेको रकमलाई भ्रष्टाचार गरेको, इमान्दार कर्मचारीलाई पाखा लगाएर भ्रष्टलाई संरक्षण गरेको, नगरपालिकाको जग्गा खरिदमा भ्रष्टाचार गरेको, ग्रेडर किन्ने पैसा नभएको नगरपालिकामा रु एक करोड ६३ लाखको गाडी किनेको, नगरपालिकामा खुलेको नायब सुब्बाको दरबन्दीमा आफ्नी श्रीमतीलाई राख्नका लागि साँठगाँठ मिलाएको लगायतका आरोप लगाइएको छ ।
कार्यकारी अधिकृत सापकोटालाई जग्गा र गाडी खरिदमा अनियमितता गरेको भन्दै अन्य दलले समेत बहिष्कार र विरोध गर्दै आएका छन् । कालोमोसो दलेपछि कार्यालयबाट बाहिरिनुभएका कार्यकारी अधिकृत सापकोटा सम्पर्कमा आउन चाहनुभएन । रासस