Live Streaming

​अछाममा घाइते चितुवा भेटियो

शिवराज खत्री

अछाम, १० साउन । अछामको मंगलसेन नगरपालीका ४ स्थित जनिरवा खोला नजिक चितुवा भेटिए पछि स्थानियहरुमा त्रास फैलिएको छ । थाप्ले सामुदायिक बन र जनिरवा खोला नजिक ढल्ले गाँउको पश्चिम तर्फको खाली जग्गामा चितुवा भेटिएको हो । जसका कारण गाँउलेहरुलाई आवतजावतमै समस्या भैरहेको स्थानियहरुले जानकारी दिएका छन ।

जिल्ला बन कार्यालय अछामका अनुसार अस्वस्थ अवस्थामा रहेका त्यो चितुवाले करिब ३ दिन यता आफ्नो बासस्थान परिवर्तन गर्न सकेको छैन । गाँउ नजिकै चितुवा देखेपछि गाँउलेहरुले प्रहरीमार्फत जिल्ला बन कार्यालयलाई खबर गरेको जानकारी दिएका छन ।

जिल्ला बन कार्यालयका निमित्त जिल्ला बन अधिकृत भक्तराज गिरीले चितुवा भेटिएको ठाँउदेखि करिब ५ सय मिटर वरपरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको जानकारी दिनुभयो । आज बिहान प्रहरी र जिल्ला बनको टोलीले स्थलगत निरीक्षण गर्दा हिजोको भन्दा करिव २० मिटर माथि ओडारमा गएर चितुवा बसेको भेटाएको छ ।

चितुवाले केहि दिन पहिले स्थानीयको एक गाई र एक बहर मारेपछि त्यसैको मासु खाँदा चितुवा बिरामी परेको हुन सक्ने जिल्ला बनले अनुमान गरेको छ । २ दिन पहिले मात्र सोही घाईते चितुवाको आक्रमणबाट एक युवक घाईते भएका थिए ।