Live Streaming

हत्या अभियोगमा दाजुभाई पुर्पक्षका लागि थुनामा

माया अधिकारी

पर्वत,७ साउन । दुई वर्ष पहिले साथीको हत्या गरेको अभियोग लागेका पर्वतको लेकफाँटका दाजुभाई पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको लेकफाँट गाबिस वडा नं ४ कुवापानीका जगतबहादुर पुनको हत्या गरेको अभियोगमा सोही ठाउँका दाजुभाई ज्ञानबहादुर पाइजा र लोकेन्द्र पाइजा पुर्पक्षका लागि थुनामा परेका हुन ।  पर्वत जिल्ला अदालतका श्रेष्तेदार ख्याम लामिछानेको एकल इजलासले अभियुक्त पाइजा दाजुभाईलाई साथीको हत्याको अभियोगमा थप अनुसन्धानका लागि पुर्पक्षका लागि थुनामा पठाएको हो । 

दाजुभाईले २०७० साल असार ९ गते राती जगतबहादुर पुनलाई  कुटपिट गरी हत्या गरेको अभियोगमा मुद्दा चलाइएको हो । उनीहरुले साथी संगको रिसइबीमा कुटपुट गरि हत्या गरेर   लेकफाँट – ५ भुमेस्थानको भीरमा शब फालेको अभियोग लागेको छ ।  अभियुक्त ज्ञानबहादुरलाई प्रहरीले गएको असार १७ गते चितवनको नारायणगढमा रिक्सा चलाई राखेको अवस्थामा र भाई लोकेन्द्रलाई असार ७ गते बागलुङ्गबाट पक्रेको थियो । पक्राउ पछि दुबैले हत्या गरेको स्विकार गरेका थिए । घरबाट हराएका जगत पुनको  शब असार ३० गते भीरमा भेटिएपछि शंकास्पद मृत्यु भएको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको थियो । 

घटना शंकास्पद भएकाले अनुसन्धान गर्ने क्रममा दुई बर्ष पछि मात्रै हत्या भएको पुष्टि भएपछि प्रहरीले मुद्दा चलाएको थियो । दुई बर्ष सम्म फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरि मुद्दा दायर गर्ने क्रममा प्रहरीले ठुलो सफलता पाएको बताएको थियो । ‘यो घटनामा अभियुक्त सम्म पुग्न प्रहरीले ठुलो मेहनत गरेकाले सफलता पनि प्राप्त गरेको छ’ प्रहरी नायब उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले भने । 

भीरबाट खसेर मृत्यु भएको अनुमान गरिएपनि लासको केही भागमा सडेको र केही भागमा सग्लै हुनु तथा घाँटीमा ट्राउजरले बाँधेको अवस्थामा शव फेला परेपछि हत्या आशंकामा प्रहरीले अनुसन्धान थालेको थियो ।  लामो समय सम्म अनुसन्धान गर्दा पनि हत्यारा नजिक पुग्न नसकिरहेको बेला प्रहरीले जगत घरबाट हराएको दिनका घटनाक्रम र संगै रहेका साथीहरुको बयानका क्रममा अनुसन्धान गर्ने क्रममा हत्यारा नजिक पुगेको बताएको छ ।