Live Streaming

​ नगरकोटका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण (फोटो फिचरसहित)

भक्तपुर, साउन ७ । भुकम्प प्रभावित जिल्लामा सञ्चालित ‘एक विद्यार्थी एक शैक्षिक सामाग्री’ अभियानअन्तर्गत नगरकोटको चुनादेवी माध्यमिक विद्यालयका सबै विद्यार्थीलाई शैक्षिक सामाग्री सहितको झोला वितरण गरिएको छ । बुधबार नगरकोटस्थित विद्यालय परिसरमा आयोजित कार्यक्रममा रेडियो अन्नपूर्ण र फिल द बकेट संस्थाका प्रतिनिधिहरुले विद्यालयमा अध्यनरत १ सय ९३ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।


रेडियो अन्नपूर्णको संयोजनमा सुरु भएको अभियानअन्तर्गत भक्तपुर र काभ्रे जिल्लाका विद्यार्थी अध्ययनरत चुनादेवी माविमा शैक्षिक सामाग्री वितरण गरिएको हो । विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीको घर भुकम्पका कारण ध्वस्त भएको छ । शैक्षिक सामाग्री वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तबहादुर तामाङले भुकम्पको पीडामा परेका विद्यार्थीले राहात पाएको बताए । ‘शैक्षिक सामाग्रीसहितको झोला पाएर हाम्रा नानीहरु खुसी भएका छन्, यसले उनीहरुको पढाइमा मद्दत पुर्याउनेछ ।’


प्रधानाध्यापक नानुमायाँ गिरीले विद्यालयका सबै विद्यार्थीलाई शैक्षिक सामाग्रीको बन्दोबस्त गरेकोमा राहात मिलेको बताइन् । ‘भुकम्प प्रभावित विद्यार्थीका लागि ठूलो राहात मिलेको छ, हाम्रा विद्यार्थी खुसी भएका छन् । विद्यालयमा काभ्रे जिल्लाका विद्यार्थी दुई घण्टा पैदल हिंडेर आउने गरेका उनले बताइन् । रेडियो अन्नपूर्णका प्रतिनिधि सुशील पन्तले भुकम्प प्रभावित क्षेत्रका विद्यार्थीको अध्ययनमा सहयोग पुगोस् भनेर ‘एक विद्यार्थी, एक शैक्षिक सामाग्री अभियान’ सुरु गरिएको बताए ।

कक्षा ६ मा अध्ययनरत रशीला तामाङले झोला पाउँंदा खुसी लागेको बताइन । ‘हामी धेरै खुसी भएका छौ’ अर्की छात्रा सेलिना तामाङले भनिन् । न्युन आर्थिक हैसियत भएका विद्यार्थी पढ्ने स्कुलमा विद्यार्थी आकर्षित गर्न दिवा खाजाको समेत व्यवस्था गरिएको छ ।


कार्यक्रममा गायक एड्रियन प्रधानले ‘यो मन त मेरो नेपाली हो..’ लगायत गीत गाएर विद्यार्थीलाई मनोरञ्जन गराएका थिए । कार्यक्रममा नेपालका बरिष्ठ चराविद् रामशरण नेपाली समेत सहभागी भएका थिए । तामाङ समुदायका विद्यार्थीको बाहुल्यता रहेको बिद्यालयका बालबालिका शैक्षिक सामाग्री पाएकोमा खुशी व्यक्त गरेका थिए । अभियानमा फिल द बकेट, यती फोर डव्लु डी क्लबलगायतको सहयोग रहेको छ ।

तस्बिर: सुशील पन्त