Live Streaming

थप ११ ठाउँमा प्रदूषण नाप्ने स्टेसन

काठमाडौं,७ साउन । सरकारले चालू आर्थिक वर्षभित्र देशका विभिन्न ११ स्थानमा वायु प्रदूषण नाप्ने यन्त्र जडान गर्ने भएको छ। विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले मुख्य सहरको वातावरणीय अवस्था अनुगमन गर्ने यन्त्र खरिदका लागि प्रक्रिया अघि बढाएको छ।

 विभागका उपमहानिर्देशक सुरेन्द्र सुवेदीले वायु प्रदूषणको भरपर्दो र विविध तथ्यांक प्राप्त गर्न स्टेसन स्थापनाको तयारी भएको जानकारी दिए। अहिले पनि उपत्यकाबाहेक कतै पनि वायु प्रदूषण नाप्ने यन्त्र छैनन्। काठमाडौंमा भएका ६ यन्त्रसमेत काम नलाग्ने अवस्थामा छन् । प्रदूषणको वास्तविक जानकारी नहुँदा विस्तृत अध्ययन अनुसन्धान तथा योजना बनाउनसमेत अप्ठ्यारो भइरहेको छ।

 

महँगो खर्चमा बेलाबेला मर्मतसम्भार गरे पनि बिग्रिएका प्रदूषणमापन यन्त्रले ताजा जानकारी (रियल टाइम डाटा) उपलब्ध गराउँदैनन् । विभागले बिग्रिएका उपकरण बनाउन लामो समयदेखि गरेको प्रयाससमेत सफल हुन सकेको छैन। उपमहानिर्देशक सुवेदीका अनुसार यस वर्षभित्रमा ११ वटा स्टेसन जडान गर्ने योजना छ भने अर्को वर्ष क्रमशः स्टेसन थप्दै जाने योजना छ।

 विभागले आफ्नै स्रोतबाट तीनवटा स्टेसन स्थापना गर्ने तयारी गरेको छ भने बाँकी आठवटा साझेदार दातृ निकायले सहयोग गर्ने वचन दिएको जानकारी पोखरेलले दिए । एउटा केन्द्र स्थापना गर्न करिब एक करोड रुपैयाँ खर्च हुन्छ। 

 अहिलेसम्म इसिमोडले तीनवटा तथा भौतिक योजना तथा निर्माण मन्त्रालयअन्तर्गतको सहरी वातावरण सुधार आयोजनाले तीनवटा प्रदूषण मापन यन्त्र दिने प्रतिबद्धता जनाइसकेका छन्। यी सबै आधुनिक यन्त्र हुनेछन्। 'अहिले के भइरहेको छ भन्ने जानकारी तत्काल दिनसक्ने (रियल टाइम डाटा) उपकरण ल्याउने हो', सुवेदीले भने।

 

यन्त्र उपलब्ध भएपछि एउटा लुम्बिनी, एउटा इच्छाकामना चितवन तथा नौवटा काठमाडौंमा राखिनेछन्। सन् २००० मा डानिडाको सहयोगमा स्थापना भएका स्टेशन २००७ देखि नै काम नलाग्ने अवस्थामा पुगेका हुन्। विज्ञले लामो समयदेखि काठमाडौं उपत्यकामा वायु प्रदूषणको ताजा जानकारी (रियल टाइम) आवश्यक भएको बताइरहेका छन्।

 वायु प्रदूषण मापन मापदण्ड २०६८ अनुसार २४ सै घन्टा प्रदूषणको (पीएम २५ र पीएम १०) अवस्था अनुगमन गर्नुपर्छ। कार्बनमोनोअक्साइड, लिड, ओजनलगायतको अवस्था वर्षभरिमा कम्तीमा तीन सय ४७ दिन मापन हुनुपर्ने व्यवस्था छ।

 पुराना गाडीले फाल्ने धुवाँ तथा उद्योगधन्दाको धुवाँका कारण काठमाडौंको वायु प्रदूषण डरलाग्दो अवस्थामा छ। विभिन्न अध्ययनले ६० प्रतिशत प्रदूषण गाडीकै कारण हुने तथ्य सार्वजनिक गरिसकेका छन् । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा धेरै गुणा बढी प्रदूषण काठमाडौंमा छ।

 विश्व स्वास्थ्य संगठनका अनुसार, काठमाडौंमा पीएम १० को मात्रा एकसय २० हुनुपर्ने हो। तर काठमाडौंमा औषत चा रसयभन्दा बढी हुन्छ। पछिल्ला पाँचमा प्रदूषणको मात्रा ४० प्रतिशतले बढेको विज्ञहरूले गरेका विभिन्न अध्ययनले देखाएको छ।