पोखरामा जमिन भासियो
पोखरा,७ साउन । पर्यटकीय नगरी पोखराका एकदर्जनभन्दा बढी स्थानमा जमिन भांसिदै गएको छ । विगतमा पोखराको अर्मलामा मात्रै जमिन भासिएकोमा अहिले पोखराका नगर क्षेत्रमा पनि जमिन भासिन थालेको छ । लगातार परेको बर्षाका कारण पोखराका एक दर्जन बढी स्थानमा जमिन भासिएको सहकर्मी प्रेम नेपालीले जनाउनुभएको छ ।
अहिले विशेष गरी पोखराको बाटुलेचौरस्थित महेन्द्रगुफा मार्गको नयाँ चोक नजिकै ठूलो भ्वाङ् परेको छ । भ्वाङ्क परेका कारण अहिले ती क्षेत्रका आधादर्जन बढी घरहरु जोखिममा परेका छन् भने लोड भरिएका ट्रिपरहरु नै भास्सिएका छन ।
हालै गएको भूकम्पले जमिन हल्लिएका कारण पोखरामा जमिनहरु भास्सिएको हुनसक्ने भूगर्भ विद्हरुको भनाइ छ । लगातारको वर्षाका कारण यतिबेला पोखराको अर्मला, बाटुलेचौर, अमरदिप, शान्तिदिप, नदीपुर, छोरेपाटन, सिमलचौर, लेकसाइड लगायतका दर्जनौस्थानमा भ्वाङ परेपछि स्थानीय वासिन्दा त्रसित बनेका हुन् ।
वर्षातको क्रम जारी रहेका कारण पोखराका थप स्थानमा समेत जमिन भासिन सक्ने अनुमान स्थानीयले गरेका छन् । यद्यपि जिल्ला प्रशासन तथा सडक डिभिजन कार्यालयले भने भत्किएको तथा भास्सिएको स्थानको मर्मत कार्य जारी रहेको जनाएको छ ।