Live Streaming

​मौद्रिक नीति सार्वजनिक

काठमाडौं,७ साउन । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ । चालु आर्थिक वर्षमा मूल्यवृद्धि साढे ८ प्रतिशतमा कायम राख्ने र तरलता ब्यवस्थापनमा केन्द्रीत हुने लक्ष्यसहित ठूलो नीतिगत परिवर्तन नहुने गरी दिउसो २ बजे नीति सार्वजनिक गरिने राष्ट्रबैंक श्रोतले जनाएको छ ।

स्रोतका अनुसार आज विहान संचालक समितिको बैठक बसेर मौद्रिक नीतिलाई अनुमोदन गर्नेछ । सरकारले हालै संसदमा सार्वजनिक गरेको नयाँ आर्थिक बर्ष २०७२÷०७३ को बजेटमा ब्यवस्था गरिएको कार्यक्रमहरुलाई कार्यान्वयनमा सहयोग हुने गरी नीति ल्याइने गभर्नर चिरञ्जीवि नेपालले बताउनुभयो । भूकम्पपछिको अवस्थाका विषयमा बजेटसँग तचालमेल मिलाउने गरि मौद्रिक नीति सार्वजनिक गरिनेछ ।

तरलता व्यवस्थापन, अनिवार्य नगद मौज्दातको सीमा, वित्तीय क्षेत्रमा पहुँच, बैंक तथा वित्तीय संस्थाको स्थापना, सञ्चालन, गाभ्ने र गाभिने, किन्ने र किनिने, शेयर धितो कर्जालगायतका विषय समेट्ने गरी मौद्रिक नीति ल्याउने तयारी भएको राष्ट्र बैंकले जनाएको छ ।

भुकम्पपछि बैंकहरुमा तरलता बढेकाले त्यसको व्यवस्थापनका लागि लगानीको दायरा फराकिलो पार्नुपर्ने आबाज पनि उठेको छ । बजेटले पूजी बजारलाई खासै सम्बोधन नगरेकोले भए पनि मौद्रिक नीतिले त्यसलाई प्राथमिकतामा राख्ने आशा लगानीकर्ताहरुले गरेका छन् । अर्थमन्त्रीले बजेट प्रस्तुत गरेपछि हरेक बर्ष बढीमा साता दिनपछि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने गर्छ ।