Live Streaming

​सुझाव एकीकृत गर्ने क्रम आज पनि जारी

काठमाडौं,७ साउन । संविधानको प्रारम्भिक मस्यौदामा जिल्ला जिल्लाबाट प्राप्त सुझाव एकीकृत गर्ने क्रम आज पनि जारी रहेको छ । हिजोदेखि एकीकृत गर्न थालिएको सुझाव संकलन आज पनि तीन भागमा राखेर छुट्याउने काम भइरहेको संविधानसभा सचिवालयले जनाएको छ । 

यसैबीच नागरिकको सुझाव संकलनको समय सकिए पनि सभासद र कर्मचारीहरुले जिल्लाबाट संकलन गरेर ल्याएका सुझावहरु संविधानसभामा आउने क्रम भने जारी रहेको छ । संविधान सुझाव समितिका सभापति प्रमिला राणाले सुझाव संकलनको काम सकिएकाले प्राप्त सुझावलाई प्रतिवेदनमा ढालेर संविधानसभा अध्यक्षलाई जतिसक्दो चाँडो बुझाउने गरी काम गरिरहेको रेडियो अन्नपूर्ण नेपाललाई जानकारी दिनुभयो ।

संविधानमा धार्मिक स्वतन्त्रता राखिनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था हुनुपर्ने, संघीयतामा जाँदा उत्तर–दक्षिण मिलाएर बढीमा पाँच प्रदेश मात्र बनाउनुपर्ने, नेताको शैक्षिक योग्यता तोकिनुपर्ने, थ्रेसहोल्ड पाँच प्रतिशतसम्म राख्नुपर्नेलगायतका सुझाव बढी आएका छन् ।