Live Streaming

मस्यौदामाथि आएका एक लाखभन्दा बढी सुझाव एकिकृत गरिंदै

काठमाडौं,६ साउन । संविधानको पहिलो मस्यौदामा संकलन भएका सुझावलाई आजदेखि एकीकृत गरिंदैछ ।  मस्यौदामाथि  देशभित्र र बाहिरका नेपालीले लाखौं सुझाव दिएका छन् । नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले देशभरिबाट प्राप्त सुझावसहितको प्रतिवेदन संविधानसभा पेस गर्न भोलिसम्मको समय पाएको छ ।

यद्यपी समितिले प्रतिवेदन बुझाउने समय थप गर्न माग गरेको छ ।  जनताले दिएको सुझाव संकलनको प्रतिवेदन तयार पार्न समय लाग्ने भन्दै सभाध्यक्ष सुवास नेम्वाङसँग केही दिन समय माग गरिएको  समिति सभापति प्रमिला राणाले जानकारी दिनुभयो । जवाफमा अध्यक्ष नेम्वाङले काम गर्दै जादाँ समय अपुग भएमा केहि दिन थप गर्न सक्ने संकेत दिनुभएको सभापति राणाले जानकारी दिनुभयो । 
मस्यौदामाथिको सार्वजनिक सुनुवाइका सहभागीहरूले कार्यक्रम सकिएको दुई दिनभित्र संविधानसभामा प्रतिवेदन बुझाउनुपर्ने समय चापका कारण आफ्ना सुझावहरू नसमेटिने हुन् कि भन्ने आशंकालाई मेट्न पनि समितिलाई थप दुई दिनको समय उपलब्ध गराउने तयारी भएको संविधानसभा सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिनुभयो ।


सुझावहरूको प्रारम्भिक विश्लेषणअनुसार संविधानको मस्यौदालाई सकारात्मक रूपमा लिएका सर्वसाधारणले धर्मनिरपेक्षता, स्थानीय निकाय, नागरिकता र प्रदेशको संख्या, सीमासम्बन्धी मुद्दामा सुझाव केन्द्रित गरेका छन् । सांसददेखि राष्ट्रपतिसम्मको शैक्षिक योग्यता तोक्नुपर्ने, वडाध्यक्षदेखि कार्यकारी प्रमुखसम्म प्रत्यक्ष निवार्चित गर्नुपर्ने, केन्द्र र प्रदेशमा सांसदको संख्या घटाउनुपर्ने, आमा वा बाबुका नामबाट वंशजको नागरिकता प्राप्ति हुनुपर्ने जस्ता सुझाव धेरै छन् ।