Live Streaming

​मधेशी दलले विरोधलाई निरन्तरता दिने

 काठमाडौं,६ असार । तराईका विभिन्न जिल्लामा बन्द र हड्तालका कार्यक्रम गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधानको मस्यौदाको विरोधलाई निरन्तरता दिने जनाएको छ । मोर्चाले बिहीबारदेखि ११ गतेसम्म तराईका विभिन्न जिल्लामा विरोधका कार्यक्रम गर्ने जनाएको छ ।

मोर्चाले साउन ७ गते वीरगञ्ज, ८ गते भैरहवा, १० गते जनकपुर र ११ गते बिराटनगरमा विरोध सभा गर्ने निर्णय समेत गरेको छ । मोर्चाले यसअघि मस्यौदाको विरोधमा साउन ५ र ६ गते मधेश बन्दको आह्वान गर्दै सुझाव संकलन केन्द्रमा विरोधका कार्यक्रम गरेको थियो ।

मधेशी मोर्चाले आन्दोलनका क्रममा प्रहरीले व्यापक दमन गरेको भन्दै घाइते कार्यकर्ताको तत्काल उपचारको व्यवस्था सरकारले मिलाउनुपर्ने तथा पक्राउ परेका कार्यकर्तालाई तत्काल रिहा गर्नुपर्ने माग अघि सारेको छ । प्रमुख दलहरुबीच १६ बुँदे सहमति पश्चात संविधानको पहिलो मस्यौदा सार्वजनिक भएपनि मधेशवादी दलहरु त्यसको विरोधमा उत्रिएका छन् ।