ढुंगामुढाले संविधान रोकिदैन: प्रधानमन्त्री
ललितबहादुर बुढा
सुर्खेत,५ साउन । प्रधानमन्त्री सुशील कोइरालाले केही व्यक्ति र समुहले ढुंगामुढा गर्दैमा नयाँ संविधान निर्माणको काम नरोकिने बताएका छन् । नयाँ संविधान निर्माणको अभियान बिथोल्न केही तत्वले षड्यन्त्र गरेको भएपनि जनताको बढ्दो सहभागिताले त्यसलाई असफल बनाएको बताउनु भएको छ। साथै उनले कुनैपनि हालतमा जनताको हातमा नयाँ संविधान दिएरै छोड्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
संविधानको मस्यौदामाथि जनताको राय तथा सुझाव बुझ्ने क्रममा मंगलबार सुर्खेत आएका प्रधानमन्त्री कोइरालाले कोही कसैले डन्डा देखाउँदैमा र जनताको भावनालाई निषेध गर्न ढुंगामुढा गर्दैमा अब संविधान नरोकिने बताए । आफ्ना मागहरु राख्नु स्वभाविक भएपनि संविधान निर्माणको कार्य विथोल्न वन्द र हड्ताल गर्ने तथा ढुंगामुढा गरेर अराजकता मच्चाउन खोजिएको कोइरालाको भनाई छ । उनले भने, ‘तपाईंहरु अब ढुक्क हुनुस्, कुनैपनि हालतमा नयाँ संविधान आउँछ । एक दुई जनाले सडकमा डन्डा देखाउँदैमा र ढुंगामुढा गर्दैमा संविधान रोकिंदैन ।’
यो अन्तिम अवसर भएको भन्दै प्रधानमन्त्री कोइरालाले यसपटक पनि कुनै बहानामा संविधान जारी नभए मुलुकमा कहिले पनि संविधान बन्न नसक्ने बताए । नेपालीले एकसय वर्ष भन्दा बढीको समय आन्दोलन र संघर्षमा विताएको उल्लेख गर्दै उनले थपे, ‘अब हामीले कहिलेसम्म यसरी आन्दोलन र ढुंगामुढा गरिरहने, कहिलेसम्म सडकमा विरोधका आवाजहरु बोलिरहने ? यसरी देशमा न विकास हुन्छ, न त शान्ति नै स्थापना हुन्छ ।
अब आउनुस् सबै मिलेर संविधान बनाउने अभियानमा जुटौं, यसमा नै सबैको भलो हुनेछ ।’ संविधानको मस्यौदामाथिको सुझाव संकलनको कार्यमा देशभरी नै जनताको लहर उर्लिएको र यसले आफूहरुलाई संविधान जारी गर्नका लागि थप बल मिलेको उनको भनाइ छ । संविधानसभा बाहिर रहेका र संविधानसभामा भएर पनि विरोधमा उत्रिएका दलहरुलाई तत्काल सहमतिमा आउन आग्रह गर्दै प्रधानमन्त्री कोइरालाले भने,‘तपाईंहरु नआत्तिनुस्, सबैका भावनाहरु समेटेर नै संविधान जारी हुन्छ । हातमा डण्डा देखाएर समस्याको समाधान हुँदैन, बरु आउनुस् सँगसँगै मिलेर संविधान निर्माणमा जुटौं ।’
जनमत संकलनका क्रममा प्राप्त भएका सबै सुझावहरुलाई मस्यौदामा समावेश गर्ने प्रतिबद्धता जनाउँदै कोइरालाले यसमा अनावश्यक आशंका नर्गन सबैसँग आग्रह समेत गरे । जनताको चाहाना अनुसार नै संविधान जारी हुने बताउँदै उनले सरकार र दलहरुले चाहेर मात्र केही नहुने बताए । आफू अन्तिम समयसम्म पनि जनताको हातमा संविधान दिलाउन प्रयासरत रहने कोइरालाको भनाई छ । संविधान नबन्दा मुलुकको अवस्था कमजोर बनेको भन्दै प्रधानमन्त्री कोइरालाले अनावश्यक माग तेस्र्याएर आन्दोलनको धम्की दिने र संविधान निर्माणको काममा अवरोध पु¥याएर देशको भविस्यमाथि खेलवाड नर्गन समेत आग्रह गरे ।
सो अवसरमा सुर्खेतका नागरिकहरुले प्रधानमन्त्री कोइरालालाई उत्तरदेखि दक्षिण जोडर प्रदेशको सिमांकन तथा नामांकन गर्न र प्रदेशको संख्या घटाउन सुझाव दिएका छन् । यस्तै यहाँका नागरिकहरुले यो क्षेत्रमा निर्माण हुने प्रदेशको राजधानी सुर्खेतमा हुनुपर्ने, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुनुपर्ने र सभासद तथा मन्त्रीका बन्नका लागि पनि निश्चित शैक्षिक योग्यता तोकिनुपर्ने लगायतका सुझावहरु प्रधानमन्त्री कोइरालालाई दिएका छन् । सोमवारको तुलनामा प्रधानमन्त्री आउने जानकारी पाएपछि मंगलवार सर्वसाधारणको भीड बढेका कारण सुरक्षाकर्मीलाई व्यवस्थापन गर्न हम्मेहम्मे भएको थियो ।