धनुषामा सुझाव संकलन कार्य स्थगित
मनिका झा
जनकपुरधाम,५ साउन । धनुषामा संविधानको प्रारम्भीक मस्यौदा माथिको सुझाव संकलन कार्य औपचारीक रुपमै स्थगित गरिएको छ । मंगलबार बिहान जिल्ला प्रशासन कार्यालय धनुषामा प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीको कार्यकक्षमा बसेको सभासदहरुसहित सुरक्षा निकायका प्रमुखहरुको बैठकले शान्ति सुरक्षा अझ बढी बिग्रिन सक्ने सम्भावनालाई मूल्यांकन गर्दै हालका लागि सुझाव संकलन कार्य स्थगित गरिएको निर्णय गरेको छ ।
करिब तीन घण्टा सम्म चलेको बैठकमा चार दलका सभासदहरुले फरक फरक मत राखेका थिए । कतिपयले कडा सुरक्षाको व्यवस्था गरि सुझाव संकलन कार्य सम्पन्न गराउनु पर्ने धारणा राखेका थिए । तर, सुरक्षा निकायका प्रमुखहरुको आग्रहमा कार्यक्रम हालको लागि स्थगित गरिएको धनुषा निर्वाचन क्षेत्र नम्बर १ का सभासद दिनेश प्रसैला यादवले जानकारी गराए ।
मस्यौदा माथि सोमबार सर्वपक्षीय छलफल गराउन खोज्दा धनुषाको सातवटै निर्वाचन क्षेत्रमा मधेशी मोर्चा तथा स्थानियवासीले प्रतिकार गर्दै झडपको अवस्था सृजना भएको थियो । सोमबार प्रहरी र प्रर्दशनकारी बीच भएको झडपमा परि दुई दर्जन सर्वसाधारणहरु घाईते भएका थिए । प्रहरीले शान्तिपूर्ण विरोधमा दमन र बल प्रयोग गर्ने काम गरेको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्धारा मंगलबार मधेश बन्दको आह्वान गराईएको छ ।
बन्द आह्वान कर्ताहरुले नगरक्षेत्रमा बांसको भाटा हातमा लिएर मोटरसाईकल जुलुश प्रर्दशन गरेका छन् । यता प्रदर्शनकारीहरुले सोमबार सांझ जनकपुरमा निर्धारण गरिएको सुझाव संकलन स्थल उद्योग वाणिज्य संघको पर्खालहरु समेत भत्काई दिएपछि वाणिज्य संघले आफ्नो सभाकक्ष छलफलको लागि उपलब्ध नगराउने जानकारी प्रशासनलाई गराएको जउवा संघका अध्यक्ष शिवशंकर साह हिराले बताए ।
कार्यक्रम स्थल समेत निर्धारण नभएको अवस्था र मधेशवादी दल तथा सर्वसाधारणहरुले अझ बढि उग्रता देखाउन सक्ने चुनौतीलाई हेर्दै कार्यक्रम स्थगित गरिएको एमालेका तर्फबाट सभासद शितल झाले जानकारी गराएका छन् ।