अहिले-पहिलेका युद्ध र स्थायी शान्ति
केशवप्रसाद भट्टराई
जुन १९८१ मा इजरायलले एफ-१५ र एफ-१६ लडाकु विमानहरू पठाएर राजधानी बगदादभन्दा २९ किलोमिटर दक्षिणको ओसिरक आणविक केन्द्रमाथि आक्रमण गरेर त्यसलाई ध्वस्त बनायो। कुनै परमाणविक केन्द्रमाथि भएको यो संसारको पहिलो आक्रमण थियो।
२८ वर्षपछि इरानले त्यस्तै परमाणविक कार्यक्रम गुप्तरूपमा विकास गरिरहेको थियो, तर न्युयोर्क टाइम्समा जनवरी २०११ मा विलियम ब्रोड, जोन मर्कोफ र डेभिड सिंगरद्वारा लेखिएअनुसार अमेरिका र इजरायलले स्टुक्सनेट नामक एउटा जटिल कम्प्युटर भाइरसको मद्दतले इरानको आणविक कार्यक्रम सम्बद्ध कम्प्युटर प्रणालीमाथि आक्रमण गरे, कम्प्युटरको आधिकारिक कोडलाई परिवर्तन गरिदिए र परिवर्तित कोडको माध्यमबाट इरानियन कम्प्युटर अपरेटरले पत्तै नपाई सबैजसो युरेनियम प्रवद्र्धन कार्यक्रम ध्वस्त पारिदिए।
अमेरिकी सैनिक अधिकारीहरू र अमेरिकी कांग्रेसका लागि विभिन्न विज्ञहरूले प्रस्तुत गरेको प्रतिवेदनअनुसार चीन, रूस र उत्तरकोरिया, इरानजस्ता मुलुकहरूले दक्ष प्राविधिकको ठूलो समूहबाट अत्यन्त शक्तिशाली साइबर सैन्य कमान्ड स्थापना गरेका छन् र ती मुलुकको तर्फबाट अमेरिकी सुरक्षा प्रणालीलगायत विद्युत्, यातायात, सञ्चार व्यवस्था र बैंकिङ सञ्जालमाथि बारम्बार आक्रमण भइरहेका छन्। त्यसले कुनै पनि बेला सम्पूर्ण अमेरिकी सुरक्षा प्रणाली बेकार र अमेरिकी आर्थिक र सामाजिक जीवन अवरुद्ध हुन सक्छ।
अर्बौं डलरको लागतमा निर्माण हुने एउटा अत्याधुनिक लडाकु विमान र हजारौं किलोमिटर टाढाको भूभागमा प्रहार गर्न सक्ने परमाणु हतियार सुसज्जित क्षेप्यास्त्रको सञ्चार प्रणालीलाई कुनै कोठामा लुकेर बसेको ह्याकरले बेकार बनाइदिन सक्छ।
यस्तै कुरालाई मध्यनजर गरी सबैजसो शक्तिराष्ट्रहरूले त्यस्ता प्रयासविरुद्ध शक्तिशाली साइबर हतियार अनुसन्धान र विकास गरिरहेका छन।अर्कोतिर, अमेरिकाले गएको तीन वर्षको अवधिमा ड्रोन प्रविधिको विकासको लागि पाँच अर्ब डलरभन्दा बढी खर्च गरिरहेको छ र न्युयोर्क टाइम्सका अनुसार उसले सन् २०३० सम्ममा उडुस वा झिँगाको आकारका तर अत्यन्त शक्तिशाली ड्रोनहरू विकास गर्ने लक्ष्य राखेको छ।
एसोसिएट प्रेसले अप्रिल २०१३ मा दिएको समाचारअनुसार एउटा मानिसको हातमा अट्ने १६ ग्राम तौल र १० सेन्टिमिटर लामो अत्यन्त शक्तिशाली क्यामेराजडित ब्ल्याक हर्नेट भनिने ड्रोन विमानलाई अफगानिस्तानका विद्रोही गतिविधि र वरिपरिको स्थितिको जानकारी लिन प्रयोग गरिएको थियो। हावाहुरीको स्थितिमा पनि उडिरहन सक्ने त्यस्तो सानो ड्रोन विमान निर्माण गर्न बेलायत सरकारले नर्वेको एउटा कम्पनीलाई तीन करोड १० लाख डलरमा ठेक्का दिएको थियो।
ब्लाक हर्नेटले विद्रोहीहरूको वास्तविक अड्डा र स्थिति खुट्याएर सूचना दिएपछि त्यस्तै क्षमतासहितको अत्यन्त शक्तिशाली स्वचालित र घातक बमवर्षक रेपर ड्रोन ब्रिटेनले पठाउने गरेको थियो। त्यस्तो रेपर ड्रोन बेलायतसहित अमेरिका र इटालीका सेनाहरूले पनि प्रयोग गरेका थिए।
त्यस्तै अर्को किसिमको आकाशमा उड्नसक्ने, पानीमा तैरन सक्ने रात तथा दिन दुवै समयमा पर्यवेक्षण गरेर जानकारी पठाउनसक्ने ड्रोन विमान पनि विकास भइसकेको छ।अमेरिकाले हालै जापानलाई मूलतः उत्तर कोरियाको आणविक गतिविधि र चीनको सैन्य गतिविधिलाई र आवश्यक परे सिंगो एसिया महादेशको निगरानी गर्नसक्ने अत्याधुनिक ड्रोन विमान उपलब्ध गराएको छ।
बिनापाइलट आकाशमा १८-२० किलोमिटर माथिबाट कुनै निश्चित स्थानको सैन्य गतिविधिलाई मिहीन ढंगले २४ सै घन्टा निगरानी गर्नसक्ने यी विमान राडारमा नदेखिने र राति पनि देख्न सक्ने र अत्याधुनिक क्यामेराले लगातार फोटो खिचेर तोकिएको केन्द्रमा पठाइरहन सक्ने क्षमताका छन् भन्ने बताइन्छ।
उता, गत वर्ष सांघाई सहयोग संगठनका राष्ट्रहरूको सैन्य अभ्यासका क्रममा पहिलोपटक परीक्षणका क्रममा चीनले एकैपटक अनेकन क्षेप्याश्त्रहरू प्रहार गर्नुका साथै शत्रु पक्षको गतिविधिको निगरानी तथा पर्यवेक्षण गर्नसक्ने ड्रोनहरूको प्रदर्शन गरेको थियो । हाल आएर भारतले पनि त्यस्ता शक्तिशाली ड्रोन विमानहरू विकास गरिरहेको छ।
‘सेन्टर फर अ न्यु अमेरिकन सेक्युरिटी' नामक एक अमेरिकी थिंक ट्यांकद्वारा गत जुनमा प्रकाशित एउटा प्रतिवेदनअनुसार 'हामी ड्रोनै-ड्रोनले ढाकेको विश्व निर्माण गरिरहेका छौं।' केल्ली सेलेरद्वारा लिखित उक्त रिपोर्टअनुसार वर्तमान समयमा ९० भन्दा बढी राष्ट्र र गैरराज्य संगठनहरूसँग ड्रोन विमानहरू छन् र तीमध्ये कम्तीमा ३० भन्दा बढी राष्ट्रहरूले अत्याधुनिक जैविक, रासायनिक र विस्फोटक हातहतियारले सुसज्जित पाइलटरहित त्यस्ता विमान विकास गरिरहेका छन्। ड्रोनहरूको माध्यमबाट कुनै गैरराज्य संगठन, व्यक्ति वा साना राज्यहरूले पनि शक्तिशाली शत्रु राष्ट्रमा ठूलो क्षति पुर्याउन सक्ने बताइएको छ।
आधुनिक क्षेप्यास्त्रजडित र राडारमा नदेखिईकनै कुनै मुलुकको हजारौं किलोमिटरभित्र पुगेर लक्ष्यमा अचुक प्रहार गर्नसक्ने यस्ता ड्रोनहरूका लागि बृहत् सञ्चालन केन्द्रसमेत आवश्यक पर्ने भएकाले हाल त्यस्तो सबै सुविधा अमेरिकाले मात्र विकास गरेको छ, तर रूस, इजरायल, चीन, भारत, फ्रान्स, इटाली, स्विडेन, स्पेन, ग्रिस स्विट्जरल्यान्डले त्यस्ता बिनापाइलटका ड्रोन विमानहरू विकास गरिरहेका छन्।
प्राचीन र मध्यकालीन युद्ध
प्रागैतिहासिक युगमा मानिसहरू ढुंगाको हतियार उपयोग गर्दथे। संसारका हरेक कुनाका मानिसले प्रयोग गर्ने गरेका विभिन्न आकारका त्यस्ता ढुंगे हतियारहरू आज पनि संसारका धेरै संग्रहालयमा देख्न सकिन्छ। एक किसिमको भालाजस्तो हतियार पनि ढुंगेयुगदेखि नै प्राचीन मि श्र र अफ्रिकामा प्रचलनमा देखिन्छ।
कौरव र पाण्डवबीचको कुरुक्षेत्रको युद्ध आजभन्दा पाँच हजार वर्षअघि भएको अनुमान गरिन्छ, तर वेदव्यासले महाभारत आजभन्दा दुई हजार वर्षअघि मात्र लेखेका थिए भनेर विज्ञहरू बताउँछन्।
त्यसैले युद्ध र सोसम्बन्धी उपलब्ध पहिलो ग्रन्थ लेखिँदाको बीचको अवधिमा तीन हजार वर्ष व्यतित भएकाले त्यसबारे धेरै किंवदन्तीहरू थपिने नै भए। तर वेदव्यासले महाभारत लेख्दा उनीभन्दा अघिका जानकारहरूले लेखेका कुनै पुस्तक विवरण जस्ता स्रोतहरू उपयोग गरे होलान्, जुन हाल उपलब्ध छैन।
महाभारतले एउटा कुरा भने के प्रस्ट पारेको छ भने त्यतिखेर युद्धमा प्रज्ज्वलनशील पदार्थसमेत उपयोग हुने धनुष-वाणजस्ता हतियार प्रचलनमा थिए। अर्थात् त्यतिखेर नै आग्नेयास्त्र प्रचलनमा आइसकेको थियो।
कौटिल्यको अर्थशास्त्रमा पनि विभिन्न किसिमका आग्नेयास्त्रहरू, तिनको निर्माण र उपयोग विधिबारेमा उल्लेख गरिएको छ।स्विडेन र ग्रिसमा तीन हजार ६ सय वर्षअघि नै काँसबाट बनेको हतियार बनेका थिए र त्यसको सय वर्ष जतिपछि मिश्रका राजा थोट्मस तृतीयले प्यालेस्टिनी विद्रोहीहरूलाई लखेट्दै वर्तमान उत्तरी इजराइलको हाइफा सहरको ३० किलोमिटर दक्षिण-पश्चिममा मेगिड्डो मैदानसम्म पुगेका थिए। उक्त युद्धमा मि श्री सेनाले महाभारतमा वर्णित युद्धमा जस्तै घोडा, रथ र अग्नि बर्साउने धनुष वाणहरू प्रयोगमा ल्याएका थिए।
युद्धमा ढुंगा, हाड तथा धातुबाट बनेका छुरी वा तरबारजस्ता हतियारको प्रयोग भने आजभन्दा झन्डै चार हजार वर्षअघि नै स्केन्डिनेभियन देशहरूमा हुन थालेको ऐतिहासिक प्रमाणहरू उपलब्ध छन्। प्राचीनकालमा जापानीहरू युद्धमा बाँसबाट बनेको ढाल प्रयोग गर्दथे।
काँसबाट बनेका तरबारहरू आजभन्दा तीन हजार तीन सय र फलामबाट बनेका तरबारहरू भने त्यसको तीन सय वर्षपछि माथि मात्रै प्रयोगमा आए। ईशापूर्व ४९० मा ग्रिकहरूले युद्धमा काठबाट बनेका ठूला जहाजबाट इरानमाथि आक्रमण गरेर विजय पाए। त्यतिखेरदेखि नै जलयुद्धको अभ्यास संसारले गर्दै आएको छ।
युद्धमा घोडाको उपयोग ईशापूर्व १४६९ मा नै भएको देखिन्छ भने हात्तीहरूको प्रयोग पहिलोपटक वर्तमान ट्युनिसियामा पर्ने कार्थेजका सेनापति हन्निबलले प्रथमपटक ईशापूर्व २१६ मा रोमनहरूविरुद्ध प्रयोग गरेका थिए।चीनमा बारुदको आविष्कार एघारौं शताब्दीमा भएको थियो, तर युरोपमा भने चौधौं शताब्दीमा मात्र बारुद पुग्यो।
युरोपमा बारुदको उपयोग हुने बन्दुकको आविष्कार सन् १४११ देखि भएको पाइन्छ। सन् १५४० मा जर्मनहरूले पिस्तोल आविष्कार गरे। सन् १५५० माराइफलको आविष्कार भयो। सन् १३४१ मा ब्रिटेन र स्कटल्यान्डबीचको युद्धमा स्कटिसहरूले आफ्नो किल्लाको रक्षार्थ गुलेलीबाट ढुंगा हानेजस्तै १६० किलोसम्मको ढुंगा हान्न सक्ने भीमकाय यन्त्र बनाएका थिए । सन् १३३० मा फलामको काम गर्दागर्दै एक कालिगढले मध्यपूर्वमा इस्पात आविष्कार गरे।
समयक्रममा राज्य सञ्चालन, धर्म-राज्य सम्बन्ध, उत्तराधिकार र स्वामित्व प्रणालीमा देखिएका अस्पष्टताहरूले युद्ध जन्माउने गरे भने राज्य-राज्यबीचको विवाद र महत्वाकांक्षाले पनि युद्धहरूलाई प्रोत्साहन गर्दै गए।
त्यसपछि सन् १४०० मा युरोपले बन्दुकमा धेरै सुधार गरेर युद्धमा प्रचलनमा ल्याउन थालेको देखिन्छ।सन् १३४६ मा बेलायत र फ्रान्सबीच भएको क्रेसीको युद्धमा पहिलोपटक सयौंको संख्यामा तोपको प्रयोग भयो।
सन् १३३७ देखि सन् १४५३ सम्मको अवधिमा छोटो-छोटो अवधिको लागि भएको युद्धविरामबाहेक बेलायत र फ्रान्सबीच लगातार एक सय १६ वर्षसम्म युद्ध चलिरह्यो। सन् १४५३ मा तुर्कहरूले ठूलो संख्यामा तोपहरूले सुसज्जित भएर रोमन साम्राज्यको राजधानी कन्स्ट्यान्टिनोपलमाथि आक्रमण गरेर नियन्त्रणमा लिए।त्यसपछिका वर्षहरूमा हतियार र युद्धकवाहक साधनहरूमा जति परिष्कार हुँदै गए, युद्ध पनि त्यति नै व्यापक हुँदै गए।
पछिका वर्षहरूमा बारुद र छर्रा भरिएका बन्दुकमा बाहिरबाट आगो झोसेर प्रहार गरिने बन्दुकहरूमा क्रमशः सुधार हुँदै ती स्वचालित मेसिन गनमा रूपान्तरण हुँदै गए। घोडाको ठाउँमा तीव्र गतिमा चारैतिर प्रहार गर्न सक्ने र त्यसका चालकहरूको सुरक्षाको बलियो व्यवस्था भएको ट्यांकहरू र आक्रामक हेलिकप्टरहरू विकास भए।
वाष्पचालित जहाज र पेट्रोलियम पदार्थले चल्ने जहाजहरू विकास भएपछि सेना तथा सैन्य सामग्रीहरू ओसार-पसारमा घोडा, हात्ती, ऊँटजस्ता जनावरहरूको प्रयोग गर्नुपरेन। ठूला, गह्रौं र भद्दा हतियारको ठाउँमा साना, हलुका, छरिता र अत्यन्त प्रभावकारी हतियार विकास भए।
दुई विश्वयुद्ध तथा मानिस-युद्ध सम्बन्ध
पहिलो विश्वयुद्ध मूलतः उन्नाईसौं शताब्दी र सोभन्दा अघिको युरोपीय राष्ट्रहरूबीचको युद्ध र युद्धजनित सम्बन्धको परिणाम थियो। फरक केवल युद्धमा आधुनिक विज्ञान र प्रविधिको प्रयोगबाट मुलुकहरूले स्थल, जल र आकाशमा युद्ध गर्ने ऐतिहासिक क्षमताको मात्र थियो।
हजारौं विमानहरू, आधुनिक जहाज र डुंगाहरू, लामो दूरीसम्म प्रहार गर्न सक्ने तोपहरू र ट्यांकहरू पहिलोपल्ट युद्धमा प्रयोग भए। हुँदै जाँदा युद्धमा जापान र अमेरिकादेखि ब्राजिलसम्म युद्धमा सहभागी भएर यो विश्वस्तरको युद्धमा रूपान्तरण भयो।
दोस्रो विश्वयुद्धले विज्ञान र प्रविधिको प्रयोगले हातहतियार तथा अन्य युद्ध सामग्रीको उत्पादन र उपयोगमा नयाँ कीर्तिमान कायम गर्यो। युद्धमा पहिलोपटक परमाणु बम प्रहार भयो र यसबारे जेम्स एजीले २० अगस्त १९४५ मा टाइम साप्ताहिकमा लेखे-पहिलोपटक कुनै हतियारले स्वयम् युद्धलाई सानो, संकुचित र महत्वहीन बनायो।
शक्तिशाली मुलुकहरूको साम्राज्यवादी र उपनिवेशवादी महत्वाकांक्षाजन्य सम्बन्धको स्थितिबाट दुइटा विश्वयुद्धमा १० करोड मानिसको हत्या भएको थियो।
मानिससँगै संसारका सबै कुनामा उनीहरूमाझ युद्ध जन्मियो। समयक्रममा राज्य सञ्चालन, धर्म-राज्य सम्बन्ध, उत्तराधिकार र स्वामित्व प्रणालीमा देखिएका अस्पष्टताहरूले युद्ध जन्माउने गरे भने राज्य-राज्यबीचको विवाद र महत्वाकांक्षाले पनि युद्धहरूलाई प्रोत्साहन गर्दै गए।
तर युद्धहरू राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनका संवाहक पनि भए, नवीन साहित्य र संस्कृतिका आधार पनि भए । वीर पूजन परम्परा पनि युद्ध संस्कृतिकै उपज हो। युद्धले ज्ञान-विज्ञान र ज्ञान-विज्ञानले युद्धलाई प्रोत्साहन र प्रवद्र्धन गर्दै गए। साथै युद्ध असह्य मानव पीडा, कष्ट र कहरका माध्यम बने। मानव सभ्यताको प्रगतिसँगै हतियारहरू आधुनिक हुँदै गए र युद्धास्त्रहरू बढीभन्दा बढी मारक क्षमता आर्जन गर्दै गए।
आज अमेरिका र रूससँग भएका आणविक हतियारहरू एक वा दुईपटक होइन, हजारपटक पृथ्वी ध्वस्त पार्न सक्ने क्षमताका छन् भन्ने विज्ञहरूको मत छ। शान्तिदूतको रूपमा संसारका अत्यन्त सम्मानित व्यक्ति दलाई लामाले पनि आतंककारीविरुद्ध हिंसा प्रयोगलाई आवश्यक मानेका छन् । प्लेटोको भनाइ अनुसार 'केवल मृत व्यक्तिले मात्र युद्धको अन्त्य देखेको हुन्छ।'
नातालिए एन्गियरले २००३ मा एउटा विचारोत्तेजक लेखमा प्रश्न गरेका छन्-त्यसो भए के त युद्ध चाहना हाम्रो डीएनएमै छ त? उनी भन्छन्-विशुद्ध खेलको भावना र मानिसहरूबीच र राष्ट्रहरूबीच हरेक कार्यमा सहकार्य, साझेदारी र आपसी निर्भरता विकास गरेर युद्धको स्थिति अन्त्य गर्न सकिन्छ।डा. दे वाल र अन्य धेरै व्यक्तिहरूद्वारा प्रस्तुत विचारहरूको सन्दर्भमा उनी भन्छन्-शताब्दीऔंसम्म त्रासद युद्ध लडेका युरोपका राष्ट्रहरू एउटै युनियनमा आबद्ध हुनु पारस्परिक निर्भरता र सहकार्यको अनुपम उदाहरण हो।
दे वाल भन्छन्-युरोपका सबै मुलुकहरू एकअर्कालाई स्नेह गर्दछन् भन्ने होइन, तर उनीहरू आफ्ना आर्थिक हित र सुरक्षाका लागि एकअर्काबीच सहकार्य गर्न बाध्य छन्। अभावहरू होलान्, तर निर्विवाद सत्य हो- युरोपीय समुदायले समस्त विश्वको लागि आपसमा शान्ति र सहकार्यको एउटा आदर्श मोडेल प्रस्तुत गरेको छ।