Live Streaming

मस्यौदामाथि सुझावको ओइरो

काठमाडौं,५ साउन । नयाँ संविधानको मस्यौदालाई सुझाव दिने अन्तिम आज विभन्नि संघसंगठनले संविधानसभालाई सुझाव बुझाउँदैछन् । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग समय लिएर सुझाव पेश गर्न चाहनेको संख्या १५ भन्दा बढी छ ।

संविधानसभा सचिवालयले सुझाव बुझ्न बिहान ११ बजेदेखि साँझ ५ बजेसम्मको समय तय गरेको छ । नेपाल बार एसोसिएनले औपचारिक रुपमा आज संविधानसभालाई सुझाब बुझाउँदैछ । बिहान ११ बजे संविधानसभा सचिवालयमा गएर सुझाव बुझाउन लागिएको र त्यसको तयारीका लागि एसोसिएसनको कार्यसमितिको बैठक बसिरहेको उपाध्यक्ष टिकाराम भट्टराईले जानकारी दिनुभयो ।  उहाँका अनुसार एसोसिएसनले समग्रम मस्यौदामा एकमुष्ट सुझाव दिन लागेको छ ।

विशेषगरी संविधानको मस्यौदाले व्यवस्था गरेको न्यायपालिकासम्बन्धी प्रावधानमा बारको चासो छ । न्यायपालिकासंगै कार्यपालिका र ब्यवस्थापिकाका सहित करिब ६५ धारा संसोधनको आवश्यक देखिएको उपाध्यक्ष भट्टराईले बताउनुभयो । यस्तै चेम्बर अर्फ कर्मश, सिएनआइ, जिफन्टलगायतले पनि आजै सुझाव बुझाउँदैछन् । हिजो पनि १५ भन्दा बढी संघसंगठनले संविधानसभा अध्यक्षलाई भेटेरै सुझाव बुझाएका थिए । 


यसैबीच संविधानसभामा झण्डै १९ हजार नागरिकले व्यक्तिगत रुपमा सुझाव बुझाएका छन् । सविधानसभा सचिवालयले ब्यवस्था गरेको वेवसाइट, इमेल, फ्याक्स र टेलिफोनबाट सुझाव दिनेहरुको संख्या उल्लेख्य रहेको छ । सहप्रवक्ता सुदर्शन कुईँकेलका अनुसार वेवसाईटबाट झण्डै १० हजार, इमेलबाट ४ हजार ५ सय, फ्याक्सबाट ९ सय ८०, टोलफ्री बाट २ हजार ८१ र नागरिक सम्बन्ध तथा सुझाव समितिमै गएर १६ वटा सुझाव बुझाईएको हो ।