सुझाव तथा राय संकलन गर्ने क्रम जारी
काठमाडौं,५ साउन । संविधानको मस्यौदामाथी आज पनि नागरीकको सुझाव तथा राय संकलन गर्ने क्रम जारी रहेको छ । प्रत्यक्ष निर्वाचित सभासदको संयोजनमा देशभरको २ सय ४० क्षेत्रमा सुझाव संकलन कार्य भइरहेको छ । सुझाव संकलनका निम्ति सरकारले दुई दिन सार्वजनिक विदा समेत दिएको छ ।
सुझाव संकलन कार्यमा सभासदहरुसँगै सरकार उच्च तहकै कर्मचारीहरु खटिएका छन् । जनताले सीमाकंनसहितको संविधान, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, सांसद हुन शैक्षिक योग्यता, धर्म निरपेक्षता हटाउनुपर्ने, निर्वाचन थ्रेसहोल्ड राख्नुपर्ने, आमाको नामबाट नागरिकता दिने व्यवस्था गर्न, प्रदेश प्रमुखलाई समेत महाअभियोग लगाउन सक्ने प्रावधान राख्न र प्रधानसेनापतिलाई सुरक्षा परिषदमा राख्न लगायतका सुझाव दिएका छन् ।
दलहरूले लामो विवादपछि आठ प्रदेशमा सहमति गरे पनि सुझाव दिने राजधानीका अधिकांशले ५ वटाभन्दा बढी प्रदेश नबनाउन सुझाव दिएका छन् । लिखित र मौखिक सुझाव दिने अधिकांशले प्रदेशको संख्या बढी हुँदा प्रशासनिक खर्च बढ्ने बताएका छन । केहीले संघीयतालाई जनमतसंग्रहबाटै टुंगो लगाउन पनि सुझाव दिए । संविधानसभाको कार्यतालिका अनुसार देशभर भइरहेको सुझाव संकलन कार्यमा केही मधेश केन्द्रीत दल र राप्रपा नेपालले असहमति जनाएका छन् ।
विषेशगरी, तराईका जिल्लाहरुमा सुझाव संकलन कार्यस्थलमै विपक्षी दलहरुले सुझाव संकलन फारम च्यात्ने, कार्यक्रमस्थलमा ढुंगामुढा प्रहार गर्ने, सभासद तथा मन्त्रीहरुमाथि आक्रमण गर्ने कार्य गरेपछि ठाउँठाउँमा झडप भएको छ । केही जिल्लामा भएको झडपमा केही प्रहरी अधिकृतसहित अवरोधकर्ता दलका कार्यकर्ता घाइते भएका थिए ।