Live Streaming

मस्यौदामाथिको सुझाव संकलनका क्रममा ठाउँठाउँमा झडप, ४० भन्दा बढी घाइते

काठमाडौं,४ साउन । नयाँ संविधानको मस्यौदामाथीको सुझाव संकलनका क्रममा ठाउँठाउँमा झडप भएको छ । झडपका क्रममा केही घाइते भएका छन् ।  संविधानको मस्यौदामा सुझाव संकलनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा जनकपुरमा ४० जनाभन्दा धेरै  घाइते भएका छन् । संविधानको प्रारम्भीक मस्यौदालाई जनता माझ छलफल गराउन खोज्दा त्यसको विरोधमा उत्रेका मधेशवादी दल र प्रहरीबीच झडप भएको हो ।

जनकपुर उद्योग वाणिज्य संघको सभाकक्षमा सुझाव संकलनका लागि पुगेका सभासदहरु मिनाक्षी झा, प्रमिला दास र लिला कोईराला सभाकक्षमा प्रवेश गरे पनि सर्वसाधारणलाई भने प्रवेश निषेध गरिएको छ । जनतालाई प्रवेशनै गर्न नदिएपछि कस्तो छलफल हुने हो त भन्ने प्रश्न गर्दै सभाकक्षमा प्रवेश गर्न खोजेका सर्वसाधारण र प्रहरीबिच निक्कै बेर झडप भयो । 

प्रस्तावित संविधानको मस्यौदामा सुझाव संकलन केन्द्रमा पुगेका राप्रपा नेपालका कार्यकर्ता प्रहरीसंग झडपमा उत्रिएका छन् । मकवानपुर निर्वाचन क्षेत्र १ अन्तर्गत हटिया संयुक्त वडा कार्यालयमा आज भएको सुझाव संकलन कार्यक्रममा भएको झडपमा राप्रपा नेपालका अध्यक्ष कमल थापाकी श्रीमती प्रलिता थापा, केन्द्रीय सदस्य राजाराम बर्तौलालगायत ११ जना घाईते भएका छन् । हिन्दु राष्ट्रको माग गर्दै नारबाजी सहित ¥याली गर्दै सुझाव संकलनस्थलमा पुगेका राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।

राप्रपा कार्यकर्ताले संविधान मस्यौदा च्यात्ने तथा जलाएर बिरोध जनाएका थिए । सुझाव संकलन जारी रहँदा नाराबाजीमा उत्रिएका राप्रपाका कार्यकताले कार्यक्रमस्थलमा ढुङ्गा प्रहार गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले कार्यक्रमस्थल बाहिर नाराबाजी गरिरहदा भएको हस्तक्षेपमा झडप भएको राप्रपा नेपालका केन्द्रीय सदस्य राजाराम बर्तौलाले बताउनुभयो । 

नयाँ संविधानको मस्यौदामा जनमत संकलनका लागि रौतहट सदरमुकाम गौरमा आयोजना गरिएको कार्यक्रममा झडप हुदाँ त्यहाको स्थिती तनाबग्रस्त बनेको छ । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हबाई फायर र ५ सेल अश्रु ग्यास प्रहार गरेको छ । गौर नगरपालिकाको सभाहलमा आयोजित सार्बजनिक सुनुवाईमा आफुहरु पस्न पाउनुपर्ने भन्दै स्थानियबासिहरुले माग गरेपनि सुरक्षाकर्मिले उनीहरुलाई रोकेपछि त्यहा झडप सुरु भएको थियो ।

झापाको क्षेत्र नम्बर ३ मा भएको कांग्रेस महामन्त्री तथा सभासद् कृष्ण सिटौलाको सुझाव संकलन कार्यक्रममा झडप भएपछि त्यहाँको स्थिति तनावग्रस्त भएको छ । बनियानी स्वास्थ्य चौकी भवनमा आयोजित कार्यक्रमस्थलमा राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । राप्रपा नेपालका कार्यकर्तालाई कार्यक्रमस्थलमा प्रवेश निषेध गरिएपछि प्रहरीसँग राप्रपा नेपालका कार्यकर्ता भिडेका हुन् ।झडपमा केही प्रदर्शनकारी समेत घाइते भएका छन् । राप्रपा नेपाल लगायतको समूहले बाहिर नारा जुलुस र प्रदर्शन गरिरहेको छ  । बाहिरको वातावरण तनावग्रस्त भएपछि अहिले गेटमा ताला लगाएर हलभित्र सुझाव संकलन भइरहेको छ । प्रदर्शन र झडप भएपछि प्रहरीले संचारकर्मीलाईसमेत हलभित्र जान दिएको छैन ।

भारत भ्रमणबाट फर्के लगत्तै संविधानको मस्यौदामा सुझाव लिन सिरहा पुगेका प्रचण्डलाई मधेसवादी र वैद्य माओवादीका कार्यकर्ताले कालो झन्डा देखाएका छन् । दिउँसो सुझाव संकलनका लागि क्षेत्र नं. ५ को मिर्चैयास्थित मोहन उच्च माविमा पुगेका प्रचण्डलाई कालो झन्डा देखाइएपछि सुझाव संकलन परिसर र मिर्चैया बजारक्षेत्र तनावग्रस्त भएको छ ।

मोहन उच्च माविमा रहेको सुझाव संकलन केन्द्रमा प्रचण्ड पुग्नेवित्तिकै उनीविरुद्ध चर्का नाराबाजीमा उत्रेका मधेसी, वैद्य र मातृका माओवादीका कार्यकर्तालाई प्रहरीले तितरबितर गर्न खोज्दा झडप भएको हो । झडपका क्रममा प्रहरी र प्रदर्शनकारीबीच सुझाव संकलनस्थलमै घम्साघम्सी भएको थियो । विरोधमा उत्रेका कार्यकर्तालाई प्रहरीले बजार क्षेत्रबाट समेत खेद्ने क्रममा झडपले उग्ररुप लिएको छ । झडपका क्रममा प्रहरीले दुई राउन्ड अश्रुग्यास हानेको छ । सिरहाका ६ वटै निर्वाचन क्षेत्रमा सुझाव संकलनका क्रममा मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गर्न खोज्दा झडप भएको छ ।

सुझाव संकलनका क्रममा दाङमा पनि झडप भएको छ । नेत्राविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताहरुले सुझाव सङ्कलन कार्यक्रम चलिरहेकै बेला माइक लिएर भाषण गर्न थाल्दा प्रहरीले लाठीचार्ज गर्नुका साथै दुईजनालाई पक्राउ गरेको छ । माओवादी कार्यकर्ता भूपेन्द्र वलीले दिएको जानकारीअनुसार पक्राउ पर्नेहरुमा नेत्र लोहार र सुदर्शन शेर्पाइली रहेका छन् ।

मधेश केन्द्रीत दलहरुले अबरोध गरेपछि बाराका तीनवटै क्षेत्रमा संविधानको मस्यौदामाथि सुझाव संकलनको काम रोकिएको छ । यस्तै सप्तरी र महोत्तरीमा पनि सुझाव संकलनमा अबरोध भएको सहकर्मीहरुले जनाएका छन् ।