Live Streaming

सिरहामा प्रचण्डलाई कालो झन्डा

सिरहा,४ साउन। : भारत भ्रमणबाट फर्के लगत्तै संविधानको मस्यौदामा सुझाव लिन सिरहा पुगेका प्रचण्डलाई मधेसवादी र वैद्य माओवादीका कार्यकर्ताले कालो झन्डा देखाएका छन् ।
सोमबार दिउँसो सुझाव संकलनका लागि क्षेत्र नं. ५ को मिर्चैयास्थित मोहन उच्च माविमा पुगेका प्रचण्डलाई कालो झन्डा देखाइएपछि सुझाव संकलन परिसर र मिर्चैया बजारक्षेत्र तनावग्रस्त भएको छ ।

मोहन उच्च माविमा रहेको सुझाव संकलन केन्द्रमा प्रचण्ड पुग्नेवित्तिकै उनीविरुद्ध चर्का नाराबाजीमा उत्रेका मधेसी, वैद्य र मातृका माओवादीका कार्यकर्तालाई प्रहरीले तितरबितर गर्न खोज्दा झडप भएको हो । झडपका क्रममा प्रहरी र प्रदर्शनकारीबीच सुझाव संकलनस्थलमै घम्साघम्सी भएको थियो । विरोधमा उत्रेका कार्यकर्तालाई प्रहरीले बजार क्षेत्रबाट समेत खेद्ने क्रममा झडपले उग्ररुप लिएको छ ।

झडपका क्रममा प्रहरीले दुई राउन्ड अश्रुग्यास हानेको छ । सिरहाका ६ वटै निर्वाचन क्षेत्रमा सुझाव संकलनका क्रममा मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गर्न खोज्दा झडप भएको छ ।
प्रचण्ड पुगेपछि सिरहा क्षेत्र नं ५ को मोहन उच्च माविमा रहेका सुझाव संकलन केन्द्रमा सयौंको संख्यामा सशस्त्र र जनपथ प्रहरी परिचालित गरिएको छ ।

मधेसी मोर्चाका कार्यकर्ताले सिरहाका ६ वटै निर्वाचन क्षेत्रमा संविधानको मस्यौदा च्यातेर विरोध जनाएका छन् । अन्य निर्वाचन क्षेत्रमा पनि सुरक्षाकर्मी परिचालन गरेर सभासद्हरुले सुझाव लिइरहेका छन् ।