Live Streaming

हेटौडामा झडप,थापाकी श्रीमतीसहित ११ घाइते

भानुभक्त आचार्य
हेटौंडा,४ असार । प्रस्तावित संविधानको मस्यौदामा सुझाव संकलन केन्द्रमा पुगेका राप्रपा नेपालका कार्यकर्ता प्रहरीसंग झडपमा उत्रिएका छन् । मकवानपुर निर्वाचन क्षेत्र १ अन्तर्गत हटिया संयुक्त वडा कार्यालयमा सोमबार भएको सुझाव संकलन कार्यक्रममा भएको झडपमा राप्रपा नेपालका अध्यक्ष कमल थापाकी श्रीमती प्रलिता थापा, केन्द्रीय सदस्य राजाराम बर्तौलालगायत ११ जना घाइते भएका छन् । 


हिन्दु राष्ट्रको माग गर्दै नारबाजीसहित ¥याली गर्दै सुझाव संकलनस्थलमा पुगेका राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । राप्रपा कार्यकर्ताले संविधान मस्यौदा च्यात्ने तथा जलाएर बिरोध जनाएका थिए । सुझाव संकलन जारी रहँदा नाराबाजीमा उत्रिएका राप्रपाका कार्यकताले कार्यक्रमस्थलमा ढुङ्गा प्रहार गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले कार्यक्रमस्थल बाहिर नाराबाजी गरिरहदा भएको हस्तक्षेपमा झडप भएको राप्रपा नेपालका केन्द्रीय सदस्य राजाराम बर्तौलाले बताए । 


राप्रपा नेपालका नेता कार्यकर्ता हेटौंडा–७ नागस्वतीबाट मोटरसाईकल ¥याली सहित कार्यक्रम स्थलमा पुुगेका थिए । क्षेत्र नम्बर १ का सभासद ईन्द्रबहादुर बाँनिया, क्षेत्र नम्बर ३ का सभासद अनन्त पौडेल, प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया, प्रहरी उपरीक्षक प्रकाशजंग कार्की, विभिन्न राजनीतिक दलका नेताहरु सुझाव संकलन केन्द्रमा सहभागी थिए ।