Live Streaming

मस्यौदामा सुझाव दिएनन् थिबाङीले

खेम बुढामगर

रोल्पा, ४ साउन । संविधानसभाको दोस्रो निर्वाचनमा शून्य मतदान गरेका थबाङीले संविधानको मस्यौदा माथि पनि कुनै सुझाव दिएनन् । मस्यौदामा पनि थबाङमा ‘शून्य सुझाव’ रह्यो । गाउँ विकास समितिका कार्यालयले आयोजना गरेको सुझाव संकलनका वेला कसैले पनि सुझाव दिएनन् । सभासद्हरु गाउँगाउँ पुग्न नसकेपनि गाविस सचिवमार्पmत सुझाव संकलनको व्यवस्था मिलाइएको थियो । सुझाव संकलनका लागि थबाङ गाविसका सचिव अधिकार बुढा दिनभर सुझाव संकलनका लागि कुरेर वस्नु प¥यो ।

विप्लव नेतृत्वको माओवादीका जिल्ला सहसचिव एवं थबाङका रैथाने जयप्रकाश रोकामगर ‘प्रताप’ ले मस्यौदामा सुझाव दिने कार्य पनि वहिस्कार गरिएको जनाए । दोस्रो संविधानसभाको औचित्य नै नरहेकाले सुझाव नाटक मात्र भएको उनको टिप्पणी छ । नेकपा माओवादीको पकड रहेको थबाङमा करिब ३ हजार ५ सय जनसंख्या रहेको छ । सुझाव दिन कोही पनि नआएपछि कर्मचारीले मस्यौदा र अन्य कागजात प्रहरीलाई वुझाए । सुझाव विनाको कागजात जिल्लास्थित सुझाव संकलन आयोजकलाई वुझाउने भएको छ । थबाङका युवा अमित घर्तीले सचिव लगायतको सुझाव संकलन गर्न गएको टोली खाली हात सदरमुकाम लिबाङ फर्किएको जनाए ।

साउन २ गते प्रत्येक गाविसमा सचिवमार्पmत सुझाव संकलनको व्यवस्था मिलाइएको थियो । बुढागाउँमा सुझाव संकलन टोलीलाई माओवादीले कालो झण्डा देखाई दियो । नेकपा माओवादीका गाउँ कमिटी सचिव जागृतिको नेतृत्वमा गएको टोलीले सुझाव संकलनको विरोध गर्दै कालो झण्डा देखाएको हो । फगाम गाविस पुगेका सचिवको टोलीलाई मस्यौदाको पोको खोल्नै नदिएर फिर्ता पठाए । स्थानीय माओवादी कार्यकर्ताले संविधान सभाको दोस्रो चुनावदेखि नै आफुहरु त्यस विरुद्ध रहेकाले सुझाव समेत नदिए वताए । कर्मचारीको टोली रित्तै फर्कियो ।

 वैद्य र विप्लव माओवादीले वहिस्कारको नीति लिएका छन् भने अन्य पार्टी निकट जनता पनि दिएको सुझाव समेटिदैनन् भन्ने सोंचले सुझाव दिन गएका छैनन् । ४९ गाविस रहेको जिल्लामा गाविसबाट नगन्य मात्रामा सुझाव आएको छ । जिल्ला सभासद् कृष्णबहादुर महरा, ओनसरी घर्तीमगर, गोकुल घर्तीमगर र अमरसिंह पुनमगर सुझाव संकलनका लागि सदरमुकाममा सिमित छन् । उनीहरु गाउँ पुगेका छैनन् । सचिवमार्पत गरिएको सुझाव संकलन प्रभावकारी भएको छैन ।

केही पार्टी निकट जनता बहिस्कार गर्ने र अन्य पार्टीमा आस्थावान जनतालाई सूचना अभाव र दिएको सुझाव कार्यन्वयन नहुने वुझाईले रोल्पामा सुझाव दिन काम न्यून भएको नागरिक समाजका अगुवा घनश्याम आचार्य वताउछन । सोमबार सभासद्को उपस्थितीमा सदरमुकाम लिबाङमा सुझाव संकलन गरिने व्यवस्था मिलाईएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा वताउछन । ४ र ५ गते सभासदहरुले लिबाङमा औपचारिक रुपमा सुझाव माग्दैछन् ।