साउनको पहिलो सोमबार गलेश्वर शिवालयमा भक्तजनको भीड
म्याग्दी (बेनी), ४ साउन । साउन महिनाको पहिलो सोमबार आज म्याग्दीको प्रसिद्ध तीर्थस्थल गलेश्वरधाममा रहेको शिवलिङ्मा कामधेनु गाईको दूध चढाई पूजा अर्चना गर्न दर्शनार्थीको भीड लागेको छ ।
मुक्तिनाथ प्रवेशद्वारका रुपमा परिचित बेनी नगरपालिमा गलेश्वरमा रहेको शिवालयमा पूजा अर्चना गर्न आज बिहानैदेखि भक्तजनको भीड लागेको हो । गलेश्वर शिवालयमा पूजाआराधनाका लागि म्याग्दी, बागलुङ, पर्वत, पोखरा, नारायणगढ, तनहँुलगायतका जिल्लाबाट हजारौंको सङ्ख्यामा दर्शनार्थीहरु आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिनुभयो ।
यो महिना पाँचवटा सोमबार परेकाले पनि गलेश्वर शिवालयमा करिब ५० हजार दर्शनार्थीले पूजा आराधना गर्ने कोषले जनाएको छ । रासस